मकवानपुर, जेठ २ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले ३३औं मदन–आश्रित स्मृति दिवसको अवसरमा खाद्यान्न वितरण गरेको छ । फाउन्डेसनले दुई दिवशीय कार्यक्रम अन्तरगत पहिलो दिन आज (शनिबार) हेटौंडा–१०, स्थित संस्कृत वेदविद्यालयमा खाद्यान्न वितरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलाललको अध्यक्षता एवम् बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । दिवशका अवसरमा फाउन्डेसनले विद्यालयलाई १५ बोरा चामल, दाल १० केजी, खाने तेल २ कार्टुन, चिउरा २० केजी, पिठो २० केजी, चिनी २१ केजी, आलु १५ केजी, विस्कुट २ कार्टुन, नुन २५ केजी, बेसार २ केजी, जिरा १ केजी, धनीया २ केजी, मस्यौरा ५ केजीलगायत फुटबल, भलिबल, बास्केटबल र नगद ५ हजार समेत हस्तान्तरण गरेको हो । खाद्यान्न सामाग्रीलगायत सामग्री कार्यक्रमका प्रमुख अतिथि पाैडेल, फाउन्डेसनका अध्यक्ष खुलाल, कोषाध्यक्ष गोकर्ण तिवारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी पौडेलले मदन भण्डारी र जीबराज आश्रितले राष्ट्रका लागि गर्नुभएको योगदानका विषयमा चर्चा गर्नुहुँदै उहाँहरुले छोडेर जानु भएका अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो । सो क्रममा उहाँले मदन भण्डारी फाउन्डेसन मकवानपुरले गरेका कार्यहरुले उहाँहरुलाई जिवन्त राख्न मद्त र्पुयाएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालले जननेता मदन भण्डारीको बिचार जनतामाझ पुर्याउने लक्ष्यका साथ फाउन्डेसनले काम गरिरहेको भन्दै मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद (जबज) का उद्देश्य साकार पार्नु फाउन्डेसनको अभिारा भएको बताउनुभयो । कार्यक्रममा हेटौंडा–१० का वडाध्यक्ष फुर्वादोर्जे लामालगायत विभिन्न सामाजिक एवम् राजनैतिक क्षेत्रका व्यक्तिहरुको उपस्थिती थियो ।
स्मृति दिवसका अवसरमा फाउन्डेसनले भोली जेठ ३ गते हेटौडा–९ स्थित दिव्य वाल उद्यानमा श्रद्धाञ्जली सभा आयोजना गर्ने फाउन्डेसनका सचिव कुमार केसीले जानकारी दिनुभयो । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ ।