काठमाडौँ – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा गगन कुमार थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान १० बजे पछि शुरु भएको मत गणनाको अन्तिम मत परिणाम अनुसार गगनकुमार थापाले ३ हजार २३ र विश्वप्रकाश शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
काँग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । काँग्रेसको दुई महामन्त्रीका लागि महामन्त्रीका लागि गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा गरी ६ जनाले उम्मेदवारी दिनुभएको थियो । महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले १ हजार ५ सय ५६ , प्रदीप पौडेलले १ हजार ३ सय ९३, डा मीनेन्द्र रिजालले ८ सय ९ र डा राजाराम कार्कीले १सय ६ मत प्राप्त गर्नुभयो ।
सोमबारको मतदानमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि मध्ये महामन्त्री पदमा ४ हजार ६ सय ८२ मत खसेको काँग्रेस निर्वाचन समितिका सदस्य सिताराम केसीले रेडियो नेपाललाई जानकारी दिनुभयो । सदस्य केसीका अनुसार ४३ मत बदर भएको छ । यस्तै सदस्य केसीले सह महामन्त्रीको मत गणना केहीबेरमा शुरु हुने पनि जानकारी दिनुभयो । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि सोमबार मतदान भएको थियो । सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेको छ । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधवार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसक्नुभएको छ ।
सभापतिबाहेक अन्य पदको मतगणना काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधवार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसक्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।