हेटाैंडा, वैशाख ७ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गते सम्पन्न निर्वाचनले पार्टीलाई अवसर र चुनौती दुवै प्रदान गरेको बताउनुभएको छ । सोमबार हेटौँडामा आयोजित बागमती प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उहाँले हारजितलाई स्वाभाविक प्रक्रिया भन्दै अब काँग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो स्थान मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
भविष्यमा आफूमाथि समेत अनुसन्धान भए कानुनअनुसार प्रक्रिया अघि बढ्न दिनुपर्ने भन्दै उहाँले कसैले पनि पार्टी सभापतिमाथि अनुसन्धान गर्न नदिने भनाइ राख्न नहुने स्पष्ट पार्नुभयो । सभापति थापाले राज्य र व्यक्तिले समान रूपमा कानुन पालना गर्नुपर्ने धारणा व्यक्त गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण, बदनियतपूर्ण र प्रतिशोधयुक्त रहेको बताउनुभयो ।
पार्टीका महामन्त्री प्रदीप पौडेलले काँग्रेसलाई बलियो बनाउन रूपान्तरण आवश्यक रहेको बताउनुभयो । अर्का महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको फैसलाले पार्टीभित्र महाधिवेशनको सर्वोच्चता स्थापित गरेको धारणा राख्नुभयो । बागमती प्रदेश कार्यसमितिको व्यवस्थापनमा आयोजित कार्यक्रममा प्रदेशका ३३ वटै क्षेत्रका उम्मेदवार र जिल्ला सभापतिहरूले आफ्नो धारणा राख्नुभएको थियो ।











