हेटौंडा, बैशाख ३१ । १६औँ संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागमती गाउँपालिकाले जितेको छ । बिहीबार सम्पन्न प्रतियोगितामा बागमती गाउँपालिकाले २५ स्वर्ण, १५ रजत र १२ कास्य पदकसहित समग्रमा च्याम्पियन बन्दै उपाधि उचालेको हो ।
प्रतियोगितामा बकैया गाउँपालिकाले १६ स्वर्ण, ४ रजत र ४ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने गत वर्षको विजेता हेटौँडा उपमहानगरपालिका १५ स्वर्ण, ६ रजत र १० कास्य पदकसहित तेस्रो भयो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि हेटौँडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रतियोगिता वर्षाका कारण एक दिन लम्बिँदै बिहीबार सम्पन्न भएको हो ।
बुधबार भएको छात्रतर्फ भलिबलको फाइनलमा हेटौँडा उपमहानगरपालिकाले थाहा नगरपालिकालाई २५–२२, २५–१९, २०–२५, २२–२५ र १५–६ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, छात्रतर्फ ३ हजार मिटर दौडमा मनहरी गाउँपालिकाका सन्दीप विक प्रथम, मनिक गोले द्वितीय र थाहा नगरपालिकाका हरिकृष्ण बल तृतीय भएका थिए । छात्रातर्फको ३ हजार मिटर दौडमा बागमती गाउँपालिकाकी रविना भोलन प्रथम, थाहा नगरपालिकाकी युनिसा लामा द्वितीय तथा मनहरी गाउँपालिकाकी वविता श्रेष्ठ तृतीय भइन् ।
प्रतियोगिताका विजयी पालिका र खेलाडीलाई बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान तथा प्रदेश खेलकुद परिषद्का सदस्य अमृत लुम्बालगायतले रनिङ शिल्ड र पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्सका खेल समावेश गरिएको थियो । ९ वटा स्थानीय तहका २१० छात्रासहित ४५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा राक्सिराङ गाउँपालिकाले भने सहभागिता जनाएको थिएन ।











