हेटौंडा, बैशाख ३१ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विपद् पूर्वतयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । बिहीबार हेटौंडामा आयोजित बागमती प्रदेशमा हुनसक्ने विपद्जन्य घट्ना र त्यसको रोकथाम तथा ब्यवस्थापनको पूर्वतयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले विपद् पूर्वतयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री बानियाँले विपद्को समयमा नागरिकको जिउधनको रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउँदै विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार र सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताउनुभयो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो जिल्लाको विपद् व्यवस्थापनको अवस्थाबारे प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले जिल्लाहरूमा उपलब्ध खोज तथा उद्धारका सामग्रीहरूको मौज्दात र अवस्था, जोखिमयुक्त क्षेत्रहरूको पहिचान र वर्तमान वस्तुस्थिति, मनसुनजन्य तथा अन्य विपद्को सामना गर्न गरिएको जनशक्ति परिचालन र कार्ययोजनालगायत विपद् व्यवस्थापनलाई थप चुस्त बनाउन अपनाइने अल्पकालीन र दीर्घकालीन रणनीतिहरूका विषयमा प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री अधिकारीले प्राप्त प्रस्तुतीकरण र सुझावहरूका आधारमा प्रदेश सरकारले आवश्यक स्रोत–साधनको व्यवस्थापन र नीतिगत सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, प्रदेश सुरक्षा समितिका पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूका साथै प्रदेशका विभिन्न सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।