स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य पुरा गर्नुपर्ने ।

मकवानपुर– मकवानपुरमा वातावरणिय प्रभाव मुल्याङ्कन (आइइइ) स्वीकृत स्थानको नदिजन्य पदार्थ (ढुंगा, गीट्टी, बालुवा) को उत्खनन् प्रकृया अगाडी बढाउने निर्णय गरिएको छ । जिल्ला स्तरीय ढुंगा, गिट्टी, बालुवा अनुगमन तथा समन्वय समितिको मंगलबार बसेको बैठकले (आइइइ) स्वीकृत स्थानमा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर नदिजन्य पदार्थको उत्खनन् प्रकृया सुरु गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख एवम् अनुगमन समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को संक्रमणका कारण जारी लकडाउनका कारण नदिजन्य पदार्थको उत्खनन् कार्य समेत रोकिँदा स्थानीय तहको विकास निर्माणलगायत राजस्व समेतमा प्रत्यक्ष प्रभाव परेको हुँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर उत्खनन् कार्य सुचारु गर्ने निर्णय गरेको हो । बन्दाबन्दी लम्बीदै जाँदा नेपाल सरकारको बैशाख २४ गतेको निर्णय अनुसार विभिन्न उद्योग क्रसर, बालुवा प्लान्टसमेत संचालन गर्ने निर्णय भएकाले सोहि बमोजिम स्वास्थ्य सम्बन्धी सुरक्षा तथा सामाजिक दुरीको पुर्ण पालना गर्दै भीडभाड नगरि अनुगमन उपसमितिको निगरानीमा उत्खनन् कार्य गर्न स्थानीय तहलाई अनुमती दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै अनुगमन उपसमितिले अनुगमनका क्रममा हेटौंडा–७ स्थित जयशंकर बालुवा प्लान्टले नियम बिपरित नदिजन्य सामग्री संकलन गरेको रिपोर्ट अनुगमन समितिमा पेश गरेकाले उपसमितिको प्रतिवेदन अनुसार सो कार्य के, कती र किन भएको हो भन्ने बारे आवश्यक छानविन र कारबाही प्रकृया अगाडी बढाउन उपसमितिद्धारा प्राप्त विवरण सहित उपमहानगरपालिकालाई पत्राचार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । साथै हेटौंडा उपमहानगरपालिकाले राप्ती खोलाका विभिन्न स्थानमा विपदका दृष्टिले नदिजन्य पदार्थ व्यवस्थापन गर्नुपर्ने भनि प्राप्त पत्रका सन्र्दभमा उपमहानगरपालिकाको विपद व्यष्वस्थापन समितिले सिफारीस गरेर जिल्ला विपद व्यवस्थापन समितिमा पेश गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
बैठकमा जिसस मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललगायत जिल्ला स्तरीय ढुंगा, गिट्टी, बालुवा अनुगमन तथा समन्वय समितिका सम्पुर्ण सदस्यहरुको उपस्थिती थियो ।