आज मकवानपुरका एक जना सहित थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज विभिन्न जिल्लाका २४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार झापामा ९ जना, कपिलवस्तुमा ४ जना काठमाडौमा ३ जना, सर्लाहीमा २ जना र भक्तपूर, ललितपूर, सिन्धुली, लम्जुङ, मकवानपूर, रामेछाप, सुनसरी, नवलपरासी, मोरङमा १/१ जना गरी थप २७ जनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपालमा हालसम्म ३६ जिल्लाका ३ सय ४० जना पुरूष र ६२ जना महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये २ जनाको मृत्यु भएको छ भने ३७ जना उपचार पछि निको भई घर फर्किएका छन् ।

यसैगरी, काठमाडौको कालिमाटी, गंगबु, भृकुटीमण्डप लगायतका क्षेत्र तथा सरसफाईका कर्मचारीहरू २ हजार २ सय ३६ जनाको आर डि टि र १ हजार १९ जनाको पिसीआर विधिवाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार भृकुटीमण्डप र गंगबु क्षेत्रबाट लिईएका केही नमुनाहरुको नतिजा आउन बाँकी छ भने नतिजा प्राप्त भएका सबैमा कोरोना भाईरसको संक्रमण देखिएको छैन ।

हाल सम्म नेपालमा कूल ३२ हजार ६ सय ४ जनाको पिसीआर तथा ७४ हजार ६ सय ४९ जनाको आर डि टि विधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० जनाको पिसिआर र ५ हजार ८९ जनाको आरडिटी विधीबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।