हेटौंडा । बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष संतोष चौलागाईले प्रदेशभित्रका युवालाई सक्षम र आत्मनिर्भर मात्र नभई सचेत र सबल बनाउने तर्फ पनि युवा परिषदले काम गरिरहेको बताउनुभएको छ । हेटौंडामा भएको मानव बेचबिखन विरुद्ध, महिला हिंसा तथा जातीय, लैङ्गिक विभेद, साइबर क्राइम र लागु औषध न्यूनिकरण सम्बन्धी तीनदिने अभिमुखिकरण कार्यक्रमको सम्पन्नका अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रदेश युवा परिषदले प्रदेशभित्रका युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै प्रदेश, राज्य र अन्तर्राष्ट्रिय क्षेत्रमा सार्थक सहभागिता सुनिश्चित गरी प्रदेशलाई आधुनिक, न्यायपूर्ण र समृद्ध प्रदेश बनाउने लक्ष्य लिएको र सोहि अनुसार काम गरिरहेको बताउनुभयो । उहाँले शीपसंगै समाजमा भर्ईरहेका विभिन्न घटनाहरुलाई न्युनिकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने समेत बताउनुभयो ।
एकिकृत ग्रामीण विकास सेवा मकवानपुरको आयोजना, प्रदेश युवा परिषद्बाको आर्थिक सहयोग र गैर सरकारी संस्था महासंघ मकवानपुरको सहकार्यमा असार ९ गते देखि ११ गतेसम्म कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुर जिल्ला भित्रका, सौन्दर्यकर्मी, मजदुर क्षेत्र, विद्यार्थीलगायत करीब ७० जनाको सहभागिता रहेको गैरसरकारी संस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले बताउनुभयो । एकिकृत ग्रामीण विकास सेवा मकवानपुरकी अध्यक्ष सिता बिष्टकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालकाे पनि उपस्थिती थियाे ।