मकवानपुर । मकवानपुरमा जङ्गली विषालु च्याउ खाएर एक साताभित्रै तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्य १६ जना बिरामी परेका छन् ।
विषालु च्याउ खाएर एक साताभित्र कैलाश गाउँपालिका–९ नामटार निवासी विनोद लामाका ४ वर्षीय छोरा दिपेश लामा, सोही ठाउँकी २५ वर्षीया निरुमाया रुम्बा र राक्सिराङ्ग गाउँपालिका–७ दुगुवाङ्ग निवासी ५५ वर्षीय बलबहादुर प्रजाकाे मृत्यु भएकाे प्हरीले जनाएकाे छ ।
असार ३ गते जङ्गली च्याउ खाएर बिरामी परेका दिपेश लामा र निरुमाया रुम्बाको सिएमसी अस्पताल चितवनमा उपचार भइरहेको थियो । तर परिवारले आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदै दुवैलाई घर लगेका थिए । त्यसपछि असार ८ गते दुवैको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, असार ८ गते जङ्गली च्याउ खाएर बिरामी परेका बलबहादुर प्रजाको भरतपुर अस्पताल चितवनमा सोही दिन मृत्यु भएको छ । प्रहरीका अनुसार बिरामी परेका १६ जनामध्ये ८ जना उपचारपछि घर फर्किएका छन् भने अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ ।