मकवानपुर । जननेता मदन कुमार भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा भोली हेटौंडामा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले तीन दिवशीय कार्यक्रम गरेर ७३औं मदन जयन्ती मनाउने क्रममा भोली पहिलो दिन रक्तदान कार्यक्रम गर्न लागेको हो ।

जननेता भण्डारीको ७३औं जन्मजयन्तीका अवसरमा असार १२, १३ र १४ गते तीन दिन विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले बताउनुभयो । उहाँका अनुसार पहिलो दिन भोली (बुधबार) रक्तदान कार्यक्रम गर्न लागिएकाे हो । हेटौंडा स्थित रक्तसञ्चार केन्द्रमा बिहान ७ बजे देखि कार्यक्रम आयोजना गरिने बताउनुहुँदै उहाँले सबैलाई कार्यक्रममा सहभागि हुन आग्रह समेत गर्नुभएको छ ।

त्यस्तै मदन जयन्तीका अवसरमा असार १३ गते समाज रुपान्तरण, राजनीतिक परिवर्तन, समावेशीता, समृद्धि, र आधुनिक चेतनाको लागि जनताको बहुदलीय जनवादको योगदानमा आधारित खुल्ला कविता प्रतियोगिता र असार १४ गते हेटौंडा–११, स्थित शहिद स्मारकमा मदन भण्डारीको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जी सभा कार्यक्रम आयोजना गरेर दिवश मनाईने उहाँले बताउनुभयो ।