मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार पालिकाका अध्यक्ष सर्केश घलानले १२औं गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

पालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधारतर्फ १३ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ४ करोड २५ लाख, सामाजिक विकासतर्फ ४ करोड २५ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड १० लाख रुपैयाँ र संस्थागत विकास, कार्यालय संचालन तथा प्रशासनिक खर्चमा ११ करोड १२ लाख रुपैयाँ गरी स्रोत अनुमानबाट ३४ करोड १२ लाख रुपैयाँ बजेट सीमा निर्धारण गरेको छ ।

यसैबिच गाउँपालिकाको गाउँसभा उपाध्यक्ष फणिन्द्र तिमल्सिना, वडाध्यक्ष ईन्द्रमणि तिमल्सिनालगायतका गाउँसभाका सदस्यहरुले गाउँसभा बहिष्कार गरेका छन् । गाउँपालिका अध्यक्षले मनोमानी ढंगले बजेट ल्याएको, वडालाई बजेट उपलब्ध नगराएको भन्दै उपाध्यक्ष, वडाध्यक्षले गाउँसभा बहिष्कार गरेको बताएका छन् । उनीहरूले गाउँपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्नुका साथै दिउँसाे पत्रकार सम्मेलन गरेर गाउँपालिका अध्यक्षले मनाेमानी गरेकाे बताएका छन् । गाउँपालिकाका अध्यक्ष सर्केस घलानले भने बजेट निर्माणको प्रक्रियामै रहेको र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा बजेटको कुरा गरेर विरोध गर्नु उचित नभएको प्रतिकृया दिनुभयाे ।