मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरकाे बजेट सार्वजनीक गरेको छ । सोमबार भएको दशौँ गाउँसभामा पालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपालन, पर्यटन, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

पालिकाले आगामी आर्थिक वर्षका लागि आम्दानी तर्फ संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३४ करोड ६४ लाख रुपैयाँ, बागमती प्रदेश सरकारले सशर्त अनुदानतर्फ ३ करोड ९ लाख रुपैयाँ र संघीय सरकारबाट समपुरक अनुदानबापत २ करोड ८५ लाख, प्रदेश सरकारबाट १ करोड ९७ लाख रुपैयाँ उपलब्ध हुने अनुमान गरेकाे छ ।

पालिकाले हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडालाई ६५ लाखका दरले बजेट विनियोजन गरेको छ । पालिकाले चालू आर्थिक वर्षमा सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनाहरुलाई सम्पन्न गर्न ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्न, सहुलियत दरमा दाना तथा साइलेज विक्री वितरण गर्न तथा प्राङगरिक मल उत्पादन गर्न बकैया कृषि औद्योगिक ग्रामको संचालन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ ।