मकवानपुर । नागरिकको मानव अधिकार स्थापित गर्न सबै पक्षको भूमिका अत्यावश्यक हुने शुक्रबार हेटौंडामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरु स्थापित हुनु पर्ने र यसमा सबै पक्षको भूमिका आवश्यक हुने धारणा राखेका हुन् ।
शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले हेटौंडामा “आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा सरोकारवालाको भूमिका“ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागि सरोकारवालाहरुले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार स्थापित हुनु पर्ने धारणा राखेका थिए । जसका लागि सरकारी निकाय, नागरिक समाज, सुरक्षा निकाय, सञ्चार माध्यम र स्थानीयसमुदायबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उनिहरुले बताएका छन् ।

कार्यक्रममा धारणा राख्नुहुँदै बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले नागरिक अधिकारका लागि सरकारसँगै सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले नागरिकको “आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न सक्दो प्रयास गरिरहेको र यसलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुको सहयोग भएमा थप प्रभावकारी हुने बताउनुभयो । नागरिकलाई अधिकारको प्रत्याभूति गराउनु राज्यको दायित्व भएको उहाँको भनाई थियो ।
इन्सेक बागमती प्रदेश कार्यालयका प्रतिनिधि गणेश भण्डारीको अध्यक्षता एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग हेटौंडामा मानव अधिकार अधिकृत कृष्ण प्रसाद मिश्रले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको वर्तमान अवस्था र कार्यान्वयनका चुनौतीहरूबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका कानून तथा मानव अधिकार शाखाका उपसचिव विनोद आमात्य, श्रम तथा यातायात मन्त्रालयका विज्ञ सल्लाहाकार तुलसी रिजाल, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अधिकृत लक्ष्मण पुडासैनी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटालगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।