काठमाडौँ – आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित निकालेको छ । दुबईको आइसिसी क्रिकेट एकेडेमीमा मङ्गलवार भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपालको जितमा इन्दु बर्माले अविजित १८ रन जोडिन । सिता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन । कविता जोशी ८ रनमा अविजित रहिन् । भुटानकी टासी छेकीले एक विकेट लिइन् । यस अघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो ।
नेपालका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् । करुणा भण्डारीले एक विकेट लिइन् । यस जितसँगै नेपालले २ खेलमा २ अङ्क जोडेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानको यो पहिलो हार हो । भुटानले २ खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।
छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रवार तथा पाँचौँ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।