काठमाडौँ ।नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने आयोगका सचिव बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँले उद्घाटन सत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताउनुभयो । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलो पटक मतदान हुने भएको छ ।आयोगका सचिव दाहालले मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिनुभयो । महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५/१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् ।उम्मेदवारीको मनोनयन गरिसकेपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ । उहाँका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उहाँले बताउनुभयो । उहाँले एउटा मेसिनमा २२ देखि २३ जनाले मतदान गर्ने व्यवस्था गरिएको बताउनुभयो । निर्वाचनमा ५० किसिमका विद्युतीय मतपत्र रहने छन् । महाधिवेशनमा एमालेले निर्वाचनका लागि ९२ वटा मेसिनको प्रयोग गर्ने छ तर महाधिवेशन स्थलमा १०० वटा मेसिन लगिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमुना मतदानको अभ्यास गराइरहेको छ । दाहालले महाधिवेशन स्थलमा तीन वटा मेसिन र मोबाइलबाट नमुना मतदान गराइने बताउनुभयो । राम–लक्ष्मण इनोभेसनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामै मत परिणाम घोषणा गर्ने बताउनुभयो ।