हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले दीर्घकालीन योजना ल्याउन गाउँपालिकाका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । शुक्रवार बागमती प्रदेशअन्तर्गतका गाउँपालिकाका जनप्रतिनिधिलाई सेवा प्रवाहका क्रममा कार्यसम्पादनमा परेका समस्या र कानुनी साक्षरता सम्बन्धमा अभिमुखीकरण एवं अन्तरसंवादलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन्।
उनले धेरै योजनामा हात हाल्दा निर्माण अधुरो रहने बताउँदै महत्त्वपूर्ण एउटा मात्रै योजना ल्याउन आग्रह गरे। ‘योजना ल्याउँदा महत्त्वपूर्ण र दीर्घकालीन योजना ल्याउनुहोस्। सबै योजनामा एकैपटक हात हाल्दा काम अधुरो रहन्छ’‚ मुख्यमन्त्री लामाले भने, ‘त्यसकारण महत्त्वपूर्ण एउटा योजना ल्याउनुहोस्।’ लामाले तीनै तहको सरकार मिलेर काम गरे मात्रै सफल हुने बताउँदै स्थानीय तहलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिले प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी अन्तरसम्बन्ध स्थापित गर्न प्रदेश समन्वय परिषद्लाई प्रभावकारी बनाउनुपर्ने साथै स्थानीय सरकारबाट परिषद्मा प्रतिनिधित्व गर्ने पदाधिकारीहरु संघ/महासंघबाट सिफारिसमा मनोनयन गर्न अनुरोध गरेका छन्।
त्यसैगरी विषयगत क्षेत्रमा अन्तर सम्बन्ध र समन्वय गर्न विषयगत मन्त्रालयका मन्त्रीको संयोजकत्वमा स्थानीय सरकारका प्रतिनिधि सम्मिलित विषयगत समिति गठन आवश्यक रहेको भन्दै प्रदेश समन्वय परिषद्को बैठकले आवश्यक कार्यविधि बनाएर विषयगत समितिका अवधारणा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।
कार्यक्रममा स्थानीय सरकारबाट जारी भएका कानुनको प्रदेशको आन्तरिक मन्त्रालयमा अभिलेख प्रणालीलाई व्यवस्थित गर्न, प्रदेश र स्थानीय सरकारबाट जारी गरेका कानुनको उत्तरविधायिकी परीक्षण गर्ने कार्यको थालनी गर्न माग गरेको छ। जनप्रतिनिधिले प्रदेश र स्थानीय सरकारबीच समन्वय र अन्तरसम्बन्ध प्रभावकारी बनाउन स्थानीय सरकारका संघ‚ महासंघको प्रदेशको संस्थागत विकासमा सहजीकरण गर्ने गरी कार्यक्रम गर्नुपर्ने बताएका छन्।
गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश कार्यसमिति, बागमती प्रदेशका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङ, नीति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा.गंगादत्त नेपाल, पूर्वराष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटा, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे लगायतको आतिथ्य रहेको थियो। दुई दिनसम्म चल्ने अन्तरसंवादमा बागमती प्रदेशका १३ वटै जिल्लाका गाउँपालिका प्रमुख र उपप्रमुख सहभागी छन्।











