मकवानपुर– बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माणका लागि जिल्ला समन्वय समिति (जिसस) को सहयोग आवश्यक रहेको बताउनुभएको छ । सोमबार सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश निर्माण सम्बन्धी कार्ययोजना तयारी तथा समिक्षा गोष्ठीमा मन्त्री दुलालले अभियानलाई सफल बनाउन जिससको महत्वपुण भुमिका हुने बताउनुभयो ।

उहाँले तीन वटै सरकार बिचको समन्वय र योजनाहरु संचालनका लागि जिल्ला समन्वय समितिको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । तीन तहका सरकार बिचमा तालमेल नमिल्दा काममा समस्या देखिएको भन्दै उहाँले जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाउनुपर्ने समेत बताउनुभयो । संघ र प्रदेश सरकारले सहयोगापेक्षी सडक मानव मुक्त बनाउने लक्ष्य लिएको र त्यसको प्रभावकारीताकालागि जिससले बिषेश पहलकदमी लिनु पर्ने बताउनुभएको थियो । तीन तहकै सरकार तथा गैर सरकारी संस्था, नागरिक समाज सबैको साझा अभियान भएकाले सबैलाई परिचालन गरेर अभियान सफल बनाउनु पर्ने मन्त्री दुलालको भनाई थियो । अभियानलाई साझा अभियान बनाएर लाने र यसमा प्रदेश सरकारको पुर्ण सहयोग रहने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला समन्वय समिति बागमती प्रदेशका अध्यक्ष रघुनाथ खुलालले राज्यको दाइत्व भित्र पर्ने यस्ता अभियानमा राज्य लाग्नु पर्ने र ब्यवस्थित अभियान चलाउनु पर्ने बताउनुभयो । प्रमुख खुलालले जिससले सरकारलाई सहयोग गर्ने बताउनुभयो । उहाँले समाजिक क्षेत्रको हरेक कामको जिम्मेवरी जिससलाइ दिनु पर्ने समेत बताउनुभयो । सामाजिक क्षेत्रका कामहरु गर्न जिल्ला समन्वय समिति बाहेक कुनै अन्य निकाय प्रभावकारी हुन नसक्ने बताउनुभएको थियो ।

जिसस महसंघले सहयोगाक्षी सडक मानव मुक्त्त प्रदेश बनाउन सहयोग गर्ने भनेर निर्णय नै गरिसकेको समेत उहाँले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति जस्तो सुकै सामाजिक अभियानलाई प्रभावकारी रुपमा सन्चालन गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला समन्वय समितिका प्रमुख एवम् प्रतिनिधि, त्यस क्षेत्रमा काम गर्ने संघ÷संस्था, सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश सहजकर्तालगायतकाको सहभागिता थियो ।