मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी माघ २५ गते “हेटौंडा रन” (दौड) प्रतियोगिता आयोजना हुने भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्वतिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशको संयोजनमा कार्यक्रम प्रतियोगिता हुन लागेको हो ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पर्यटन वर्ष सफल वनाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो । हेटौंडा रनमा पुरुष र महिलाको छुट्टा छुट्टै दौड प्रतियोगिताको आयोजना गरिने पर्वतिय खेलकुद महासंघ नेपाल बागमती प्रदेशका संयोजक तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिनाकुमारी लामाले वताउनुभयो । दौडमा पुरुष तर्फ १० किलो मिटर र महिला तर्फ ५ किलो मिटर तथा अन्य सहभागिका लागि ३ किलो मिटरको दौड प्रतियोगिता आयोजना गरिने उहाँले बताउनुभयो ।
दौडमा प्रथम हुने पुरुष र महिलाले नगद ५० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने मन्त्रालयका सचिब शिव वाग्लेले वताउनुभयो । त्यस्तै द्धितीय हुने प्रतियोगिले ३० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त तथा तेस्रो हुनेले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने वाग्लेले बताउनुभयो । प्रतियोगितामा सहभागी बन्ने पुरुष तथा महिलाले सान्त्वना पुरस्कार स्वरुप १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिइएको छ ।
भ्रमणवर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पनि पर्यटन प्रर्वदन गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम गरिएको हो । हेटौंडाको हुप्रचौरबाट सुरु हुने १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला दौड बुद्ध चौक, नगरपलिका रोड, सानोपोखरा, कान्तिलोकपथ, माछाप्लान, कमाने, भौरबरोड हुँदै हुप्रचौरमै अआएर समापन हुने बताईएको छ । प्रतियोगितामा प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख÷उपप्रमुख, हेटौंडा उपमहानगरपालिकाका मेयर÷उपमेयरलगायत अन्य जनप्रतिनिधिहरु, सरकारी कर्मचारी, पुर्व मिस नेपाल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल अर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ७ हजार ५ सय जनाको सहभागिता रहने बताईएको छ । प्रतियोगिताका लागि ३८ लाख १७ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।