मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले सप्ताहव्यापी रूपमा विविध कार्यक्रम गरेर ५२औँ विश्व वातावरण दिवस मनाउने भएको छ । मंगलबार हेटाैंडामा पत्रकार सम्मेलन गरेर समितिका अध्यक्ष ध्रुव अधिकारीले सप्ताहव्यापी रूपमा जेठ १७ गतेदेखि २३ गतेसम्म विभिन्न कार्यक्रम गरेर दिवश मनाउने जानकारी दिनुभयाे ।
दिवशका अवसरमा जेठ १७ गते हेटौंडा– १९ बस्तीपुरमा रक्तदान कार्यक्रम, १८ गते विहान फरेष्ट्रि क्याम्पसको गेट अगाडिबाट बसपार्कसम्म फोहोर खोज चुनौती कार्यक्रम सञ्चालन गरी बसपार्क क्षेत्रमा प्लाष्टिकजन्य सामग्रीको विक्रि वितरण नियन्त्रण गर्न सचेतना अभियान, जेठ १९ गते नगरभित्रका सम्पूर्ण टोल विकास संस्थाहरुमा सफा हेटौंडा अभियान अन्तरगत सरसफाई कार्यक्रम र दिउँसो २ बजे वन विज्ञान अध्ययन संस्थानमा मेयर÷उपमेयरसंग बालबालिका कार्यक्रम सञ्चालन हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे ।
त्यस्तै जेठ २० गते फोहोर मैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका विषयक निबन्ध लेखन प्रतियोगिता, २१ गते वातावरणीय सचेतना मुलक साइकल र्याली तथा सम्मान कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयाे । यस्तै जेठ २२ गते मनकामना मन्दिर जाने बाटो र जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम तथा दिउँसो खेर गएका बस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम जेठ २३ गते कपडाको झोला वितरण कार्यक्रम आयोजना गर्नुको साथै पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ । सोही दिन वातावरण सचेतना सम्बन्धी र्यालीले नगर परिक्रमा गर्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे । सप्ताहव्यापी कार्यक्रमलाई सव्य र भव्य बनाउनका लागि टोल विकास संस्था, विद्यालय, खेलकुद संघ संस्था, क्लब, आमा समूह, स्वयंसेविका, धार्मिक, जातीय तथा सांस्कृतिक समूह, संचारकर्मी र नागरिक समाजका व्यक्तित्वहरुसंग समन्वय गरिएको उहाँले जानकारी दिनुभयाे ।
समुदाय परिचालनका माध्यमबाट समावेशी, समतामुलक, वातावरणमैत्री दीगो विकास हासिल गर्न हेटौडामा २०५६ सालदेखि टोल विकास सस्थाहरु स्थापना गरिएको हो । नगरका प्रत्येक नागरिकहरुको सहभागितालाई अभिवृद्धि गराउँदै समग्र टोल, वडा तथा उपमहानगरपालिकाको विकासमा योगदान गर्न तथा विकासका अवधारणाबारे टोलका हरेक सदस्यहरुलाई जानकारी गराउँदै सचेत, समुन्नत, श्रञ्जनशील र विकसित हेटौडा बनाउन अभियानमा टोल विकास संस्थाले कार्य गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयाे । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाकाे ६ लाख रूपैयाँ विनियाेजना गरेकाे समेत उहाँले बताउनुभयाे ।