मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशका लागी केपी ओलीको बिकल्प नभएको बताउनुभयो । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ को कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले केपी ओलीको विकल्प नरहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले सुखी नेपाली समृद्ध नेपाल निमाणको बाँकी अभिभारा पुरा गर्न नेपाली जनताले केपी ओलीकै नेतृत्व चयन गर्ने दावी गर्नुभयो । बैशाखमा हुने निर्वाचनमा देशैभर ओली नेतृत्वको नेकपाको विजय सुनिश्चत रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । पार्टी भित्रैबाट काम गर्न नदिने विषम परिस्थिती सृजना भएपछि प्रधानमन्त्री ओलीले नयाँ जनादेश मार्फत स्थापित भएर जनताका चाहाना पूरा गर्न अग्रसर हुने बाटो समात्नुभएको उहाँले बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले गरेका राम्रा कामलाई जनताले नियालीरहेकै कारण सरकार बिरोधीहरु जनतामा जान डराईरहेको उहाँको तर्क थियो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले राम्रा काम गरेको दावी गर्नुहुँदै मकवानपुरकै केहि सांसदहरुलाई त्यसका बिरूद्धमा लागेकाे बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य रामचन्द्र राई, अनन्त पौडेल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, नगर अध्यक्ष शालिकराम पुडासैनीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । भेलाले ९ नम्बर वडा कमिटीमा नयाँ नेतृत्व समेत चयन गरेको छ । भेलाबाट वडा कमिटी अध्यक्ष सुर्य स्याङ्तान र सचिव विष्णु रानालाई पाट्री हित बिपरित काम गरेको भन्दै बारबाहि गर्दै यदुवंश खतिवडालाई अध्यक्ष र नारायण खतिवडालाई सचिवको जिम्मेवारी दिईएको छ ।