मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष रघुनाथ खुलालले उपलब्धीमुलक र संस्कार सहितको शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको छ । हेटौंडा–५ स्थित ज्ञानदीप शिक्षा (जी.एस) निकेतन माध्यमिक विद्यालयको १९औं अभिभावक दिवशका अवसरमा प्रमुख खुलालले उपलब्धीमुलक र संस्कार सहितको व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभएको हो ।

समाजमा नकारात्मकताले प्रभाव पारेको भन्दै उहाँले समाज परिर्वतनकालागि पनि संस्कार युक्त शिक्षा आवश्यक रहेको उहाँको भनाई थियो । संस्कार युक्त शिक्षाले मात्र विद्यार्थी पूर्ण हुने भन्दै प्रमुख खुलाले गुणस्तरीय, उपलब्धीमुलक र संस्कार युक्त शिक्षाका लागि शिक्षकसंगै अभिभावक पनि उतिके जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सर्टीफिकेटले मात्रै विद्यार्थी सफल हुन सक्दैन । उपलब्धीमुलक, शिपमुलक एवम् संस्कार युक्त शिक्षाले मात्र घर र समाज प्रति जवाफ देहि हुन सिकाउँछ ।’ समय अनुसारको उपलब्धीमुलक र संस्कार युक्त शिक्षाको लागि शिक्षकहरु पनि अध्ययनशिल हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद दाहालको सभाध्यक्षतामा भएको समिति सदस्य रमीला सापकोटा, कार्यक्रममा प्यावसन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाललगायतको सहभागिता थियो । अभिभावक दिवशका अवसरमा सामाजिक अभियन्ता बिजयराज सिग्देल र रियो छमछमी सिजन ४ की उपाधि विजेता सन्ध्या आचार्यलाई सम्मान गरिएको थियो ।