मकवानपुर–बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको गेमचेन्जर प्रोजेक्टका रुपमा भीमफेदी–कुलेखानी सुरुङमार्ग अगाडी बढेको बताउनुभएको छ । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेशको गेमचेन्जर प्रोजेक्टका रुपमा अगाडी बढेको बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको भीमफेदी–कुलेखानी सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताउनुभयो । सबैको आवश्यकताका रुपमा अगाडी बढेको सुरुङमार्ग निर्माण प्रकृया छिट्टै शुरु हुने भन्दै उहाँले नयाँ वर्ष २०७७ मा निर्माण थालनी हुने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौँडाका सबै मार्गहरू छ महिनाभित्र स्तरोन्नति र आरामदायी हुने समेत बताउनुभयो । उहाँले हेटौंडाबाट काठमाडौँ जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । त्यस्तै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको उहाँले बताउनुभयो । प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने मुख्यमन्त्री पौडेलको भनाई थियो । प्रदेशको स्थायि राजधानी टुंगो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने उहाँले बताउनुभयो । उहाँले प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरूको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताउनुभयो ।