मकवानपुर । मकवानपुरको भीमफेदी–९ स्थित छैसठ्ठी मोडमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनाका घाइतेहरुको पहिचान खुलेको छ । चित्लाङ्गबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। बाँकी ८ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनामा लालबन्दी–१६ का ५१ वर्षीय राजाराम बस्नेत र ३० वर्षीय शान्ता बि.क. तथा सर्लाहीको नवलपुरका ५६ वर्षीय कमल थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै दुर्घटनामा लालबन्दीकै अम्बरी लो लामा, रितिक राई, पदम बहादुर श्रेष्ठ, सरोज कुमार चौधरी, निर्मला बि.क. , सिमा घलान, समिर सुवेदी, कल्पना बि.क., निलिमा खड्का, सुस्मा बि.क. र पवित्रा घिसिङ घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उनीहरुको हेटौंडा स्थिति हेटौंडा अस्पताल र सहकारी अस्पतालमा उपचार भइरहेको उहाले बताउनुभयो ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । गाडी ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।