मकवानपुर – जननेता स्व. मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा मदन भण्डारीको शलिकमा माल्यापर्ण गरिएको छ । मंगलबार भण्डारीको जन्मजयन्तीका अवसरमा हेटौंडा–११, स्थित शहिद स्मारमा रहेको उहाँको शालिमा माल्यापर्ण गरिएको हो ।
मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रीय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका एमालेका प्रमुख सचेतक दिपक निरौला, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलगायतका पार्टीका नेता कार्यकर्ता एवम् फाउण्डेसनका पदाधिकारीहरुले सहभागिता रहेको थियो ।
जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले साताव्यापी विविध कार्यक्रम गरेको छ । जन्मदिनका अवसरमा फाउण्डेशनले असार १२ गते रक्तदान कार्यक्रम, १३ गते “मैले बुझेको मदन भण्डारी” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता र आज मदन भण्डारीको शालिकमा माल्यापर्ण र बृक्षारोपण कार्यक्रम गरेको मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष खुलालले बताउनुभयो । नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उहाँको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवर्द्धन गर्दै आएको उहाँले जानकारी दिनुभएको छ । विसं २०५० जेठ ३ गते पोखराबाट चितवनको कार्यक्रममा जाने क्रममा दासढुङ्गामा जीप दुर्घटनामा परी नेकपा एमालेका तत्कालिन महासचिव भण्डारी र सङ्गठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।