मकवानपुर – जिल्ला वन क्षेत्र समन्वय समिति मकवानपुरको बैठक सोमबार हेटौंडामा बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष ललितबहादुर घलानको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकमा समितिका अध्यक्ष एवम् जिसस प्रमुख घलानले वन क्षेत्रको प्रयोग र संरक्षणमा जोड दिनुभयो । उहाँले वन क्षेत्रमा देखिएका विभिन्न समस्यालाई समाधान गर्दै नागरिकले प्राप्त गर्ने सुविधाहरु उपलब्ध गाराउनुपर्ने बताउनुभयो । नागरिकले आवश्यक काठ दाउरा किन्न समेत नपाउने तर वनक्षेत्रमा कुहिएर जाने समस्याको समाधान हुनु पर्ने बताउनुभएको थियो । यस्तै उहाँले हरेक वर्ष बृक्षा रोपण गरिने भए पनि त्यसको व्यवस्थापन पक्ष कमजोर देखिएकाले परिणाममुखि र व्यवस्थित बृक्षारोपण गर्नुपर्ने समेत बताउनुभयो ।
बैठकमा डिभिजन वन कार्यालय मकवानपुर र राप्तीबाट आर्थिक वर्ष २०७८÷७९ मा भएका स्वीकृत वार्षिक कार्यक्रमको प्रगति प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्षका योजनाका विषयमा छलफल भएको थियो । बैठकमा डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले यस वर्ष सोचे भन्दा उल्लेख्य रुपमा बोटविरुवा उत्पादन गरी वृक्षारोपण गर्न सफल भएको बताउनु भएको थियो । डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत नवराज थापाले पनि यस वर्षको वन क्षेत्रको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न अवरोधका बिच प्रगति उल्लेख्य भएको बताउनुभयो । बैठकले दुबै प्रगति प्रतिवेदनलाई पास गरेको छ । यस्तै बैठकले जिल्लामा नागरिकलाई काठ, दाउरा बिक्रि वितरण गर्न वन पैदावर आपुर्ति समितिलाई प्रभावकारी रुपमा संचालन गरि आवश्यक अवश्यक्ता अनुसार वितरण डिपो समेत विस्तार गरि कार्यान्वयनमा ल्याउन जिल्ला वन पैदावर आपूर्ति समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
उत्कृष्ट वन समिति पुरस्कृत
बैठकमा वार्षिक रुपमा उत्कृष्ट कार्य गर्ने सामुदायिक र कबुलीयती वन समितिलाइ नगद सहित पुरस्कृत गरिएको थियो । बैठकमा डिभिजन वन कार्यालय मकवानपुर तर्फ उत्कृष्ट हुने बागमती गाउँपालिका–८ को अमृता सामुदायिक वन र हेटौंडा–६ र १५ को चित्रेपानी सामुदायिक वनलाई २० हजार ५ सयका दरले पुरस्कृत गरिएको थियो । यस्तै कबुलीयती वन तर्फ बागमती–७ को सुनगाभा कबुलियती वनलाई पनि नगद २० हजार ५ सद रुपैयासहित पुरस्कृत गरिएको छ ।
त्यस्तै बैठकमा डिभिजन वन कार्यालय राप्ती तर्फ उत्कृष्ट हुने राक्सिराङ–६ को सिलिङ्गे सामुदायिक वन र सिमपानी देवकोट सामुदायिक वनलाई २१ हजारका दरले पुरस्कृत गरिएको थियो । भने, कबुलीयती वन तर्फ त्रिभुवन राजपथ, टाङराङ र कालीदेवी कबुलीयती वनलाई क्रमश ८ हजार, ६ हजार र ३ हजार रुपैया नगदसहित सम्मान गरिएको थियो ।
बैठकमा हेटौंडा उपमहानगरका प्रमुख मिना कुमारी लामा, सहायक प्रजिअ बद्रीनाथ गैह्रे, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटा, डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्य, वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रघुराम पराजुली,जिल्ला समन्वय समितिका शाखा अधिकृत सुनिता गजुरेल, सहायक वन अधिकृत बसन्तराज गौतम, बच्चुराम सुवेदी, राधिका शर्मा, नवराज थापा,सामुदायिक वन उपभोक्ता महासंघका सदस्य विष्णुप्रसाद न्यौपाने, कबुलियत वन उपभोक्ता महासंघका अध्यक्ष सुन्तली चेपाङलगायतको उपस्थिती थियो ।















