उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत उत्कृष्ट वर्ष प्रशिक्षककाे अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जितेका छन् । मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर अलमुताइरीलाई ‘स्पाेर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्षकाे उत्कृष्ट प्रशिक्षककाे अवार्ड दिएकाे हाे ।
यस विधामा क्रिकेटका डेभ वाटमोर, भलिबलका जगदीश भट्ट, तेक्वान्दोका कविराज नेगी र बक्सिङका दीपक महर्जन मनोनयनमा थिए । बाँकी चार जना मनाेनीतलाई पछि पार्दै अलमुताइरीले अवार्ड जितेका हुन् । अलमुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणसम्म पुगेको थियो । उनकै प्रशिक्षणमा नेपाल माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनशिपमा पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएकाे थियाे । अलमुताइरीकै प्रशिक्षणमा नेपालले अफ्रिकी देश मोरिसससँग खेलेका दुई वटा मैत्रीपूर्ण खेल पनि जितेको थियो ।











