मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बालबालिकाका क्षेत्रमा गरिने लगानीले भविष्यमा फलदायी सावित हुने बताउनुभएको छ । बालमैत्री गाउँपालिका घोषणाको तयारीका बारेमा जिल्लाको बकैया गाउँपालिकाद्धारा बुधबार आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख खुलालले आजका बालबालिका नै भोलिका देशका कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

प्रमुख खुलालले समाज रुपान्तरण नै विकासको मापन भएकाले समाजलाई परिस्कृत बनाउन सक्नुपर्ने बताउनुभयो । उहाँले भौतिक उपलब्धीले मात्र विकासको मापन गर्न नहुने भन्दै समाजिक क्षेत्रमा समेत यथोचित बजेट व्यवस्थापन गर्न आग्रह गर्नुभयो । समाजिक क्षेत्रमा गरिएका कामले समाज परिर्वतन गर्न सकिने उहाँको भनाई थियो । उहाँले बालमैत्री घोषणा गर्नु ठुलो कुरा नभएको भन्दै यसको निरन्तरताको लागि योजनाबद्ध रुपमा काम अगाडी बढाउन समेत सुझाव दिनुभएको छ ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले बालमैत्री स्थानीय तह घोषणाले सामुदायिक विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले बालमैत्री स्थानीय तह घोषणाका सुचकहरुको दिगोपनामा ध्यान दिन सुझाव दिनुभयो । समन्वय अधिकारी आन्नदराज पोखरेलले बालमैत्रीका सुचकहरुको गुणस्तरीयता, स्थानीयकरण र दिगो कार्यान्वयनको पक्षमा ध्यान दिन सुझाव दिनुभएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर खनालले बालमैत्री स्थानीय शासन र यसका चरणहरुका बोरमा, उपाध्यक्ष सरला बोलखेले बालमैत्री स्थानीय शासन स्थापनाका लागि बिगत ३ वर्षमा गरिएको काम, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीले बालमैत्री स्थानीय शासनका सुचक र बालमैत्री सहजकर्ता फणिकरमण प्याकुरेलले बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरिएका कृयाकलाप, तथ्याङ्किय अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सम्पूर्ण गाउँपालिकाले बालमैत्री घोषणाका चरणहरु पार गरेको र यसको निरन्तरताका लागि योजनाबद्ध रुपमा अगाडी बढेको बताईएको छ । कार्यक्रममा जिसस सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल मर्हजन, गाउँपालिकाका १२ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिका स्तरीय बाल सञ्जाल समितिका अध्यक्ष सरस्वती जिम्बा, बालअधिकार समितिका संयोजक झलक बहादुर थिङ, गाउँपालिकाका वाल क्लब, बालसञ्जालका पदाधिकारीलगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो । घोषणाको चरणमा रहेको गाउँपालिकाका हरेक वडामा जिससबाट अनुगमन गरेर अनुमति दिने बताईएको छ ।