कोरोना संक्रमणका कारण आज थप ११ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय एक जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमणका कारण उपत्यकाका ५ सहित ४ पुरुष र ७ महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

संक्रमणबाट ललितपुरका ३ जना, काठमाडौका २ जना, मोरङ, रौतहट, सर्लाही, मकवानपुर, रुपन्देहीका र बाँके जिल्लाका १–१ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यस्तै आज सबैभन्दा बढी काठमाडौ जिल्लामा ५ सय ७० जना सहित देशभर एक हजार दुई सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ३३ जनामा रियल टाइम पिसीआर परिक्षण गर्दा ७ सय ९६ पुरुष र ४ सय ८ जना माहिला संक्रमित भएको प्रा.डा जोगेश्वर गौतमले बताउनुभयो ।

यस्तै आज एक हजार ४ सय ४७ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४५ हजार दुई सय ४७ जना पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार आज देशभर संक्रिय संक्रमितहरुको संख्या १७ हजार एक सय २९ जना रहेको छ भने देशभर संस्थागत आइशोलेसनमा ९ हजार एक सय ५३ जना र होम आइशोलेसनमा ७ हजार ९ सय ७६ जना रहेका छन् ।

यस्तै संक्रमितहरुमध्ये १ सय ७९ जनाको आइसियु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल ५ सय भन्दा बढी संक्रमितहरु उपचारमा रहेका जिल्लाहरु उपत्यकाका तीनै जिल्ला सहित चितवन, मकवानपुर, सुनसरी, मोरङ, सिराहा, र रुपन्देही जिल्ला रहेको छ ।