हेटाैंडा, बैशाख १८ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटाएकाे छ । भने, खाना पकाउने एलपी ग्यासको मुल्य बढाएकाे छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँले तथा डिजेल र मट्टितेलमा १२ रुपैयाँले मुल्य घटेको छ । योसँगै काठमाण्डौ उपत्यका, दिपायल र पोखरामा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ ।
यसअघि काठमाण्डौ उपत्यका, दिपायल र पोखरामा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ थियो । त्यस्तै सुर्खेत र दाङमा यसअघि २१८ रहेको पेट्रोलको भाउ अब २१६ रुपैयाँ भएको छ । त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर २१४ रुपैयाँ भएको छ ।
खाना पकाउने ग्यासको मुल्य १५० रुपैयाँले बढेको छ । जस अनुसार, अब खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ ।
यसअघि पूरा सिलिण्डरको २ हजार १० र आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ थियो । त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर ४६ डलरले बढेको निगमले जनाएको छ ।











