हेटौंडा, बैशाख ११ । आत्महत्यासम्बन्धी समाचारलाई संवेदनशील र जिम्मेवार ढंगले सम्प्रेषण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनस्वास्थ्य प्रशासक किरण श्रेष्ठले आत्महत्याको कारण, कानुनी व्यवस्था, रोकथामका उपाय तथा समाचार लेखनका क्रममा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनुभयो । उहाँका अनुसार आत्महत्या बहुआयामिक कारणबाट हुने समस्या हो, जसमा अनुवांशिक, मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक अवस्थाले प्रभाव पार्ने गर्दछ । उहाँले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा गलत धारणा फैलिन नदिने, जनचेतना अभिवृद्धि गर्ने तथा आवश्यक सहयोग लिन सकिने निकायबारे जानकारी दिने जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो । विशेषगरी चर्चित व्यक्तिहरुसम्बन्धी यस्ता समाचार प्रकाशन गर्दा थप संवेदनशीलता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अभिमुखीकरणका क्रममा आत्महत्याका सम्भावित संकेतहरूबारे पनि जानकारी दिइएको थियो । एक्लै बस्न रुचाउने, अत्यधिक चिन्तित देखिने, भविष्यप्रति निराश हुने, तथा सुताइमा असामान्य परिवर्तन देखिनुजस्ता लक्षणहरू देखिन सक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन का अनुसार विश्वभर हरेक वर्ष करिब ७ लाख मानिसले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । नेपालमा दैनिक २० जनाभन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । विभिन्न अध्ययनअनुसार ९० प्रतिशतभन्दा बढी आत्महत्या मानसिक स्वास्थ्यसँग सम्बन्धित हुने गरेका छन् ।

मकवानपुर जिल्लामा पछिल्लो तीन वर्षमा ३४९ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको छ । जसमध्ये २२२ पुरुष र १२७ महिला रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा १४०, २०८१/८२ मा १३० र चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ७९ जनाको मृत्यु आत्महत्याबाट भएको जनाइएको छ । सरकारले आत्महत्या न्यूनीकरणका लागि विभिन्न कानुनी तथा संस्थागत पहल गर्दै आएको छ । दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म आत्महत्याबाट हुने मृत्युदर घटाउने लक्ष्य लिइएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिनेलाई कारबाही गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सञ्चारकर्मीका लागि आत्महत्या रोकथामसम्बन्धी मार्गदर्शन २०८० कार्यान्वयनमा ल्याएको छ । कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई यस्ता मार्गदर्शनको प्रभावकारी कार्यान्वयनमार्फत जिम्मेवार पत्रकारितामा जोड दिन आग्रह गरिएको थियो ।