हेटाैंडा । बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत माग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ । विश्वासको मत लिने मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलको प्रस्थावमाथि प्रदेशसभामा सोमबार भएको छलफलमा भाग लिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले सबै दलसँग समदुरीमा बस्ने बताउनु भएकाे हाे ।

‘तटस्थमा बसेर तटस्थ खालकै भूमिका निर्वाह गर्छौं’, आफूहरुलाई धेरै पर नराख्न मुख्यमन्त्रीलाई आग्रह गर्दै उहाँले भन्नुभयाे । यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन समेत थापाले आग्रह गर्नुभयाे । अहिले मुख्यमन्त्री र मन्त्री केही पनि लिन्न भन्ने पार्टी राप्रपा मात्र भएको उहाँले बताउनुभयाे । मुख्यमन्त्री जम्कट्टेलले १६ महिनामै तीन पटक विश्वासकाे मत लिन खाेजिरहेकाे भन्दै नेता थापाले पाँच वर्षमा कति पटक लिनुपर्ने हाे ? भन्दै प्रश्न गर्नुभयाे ।

‘हिजाेसम्म वास्तै नगर्ने अहिले चाहिएपछि कुरा गरिरहन खाेज्ने याे कस्ताे अवस्था हाे यसलाई मनन गर्न जरूरी छ’, थापाले भन्नुभयाे । सत्ता भनेकाे लुछाचुँडी रहेछ भन्दै राप्रपाले सत्ता नबुझेकाे उहाँले बताउनुभयाे । राप्रपालाई मन्त्री, मुख्यमन्त्री नचाहिएकाले सत्ता राजनीतिमा नलागी जनताकाे सुःखदुःखमा गइरहेकाे उहाँले बताउनुभयाे । नेता थापाले आगामी वर्षकाे बजेटमा पक्षपात नगर्न सरकारलाई आग्रह गर्नुभयाे । प्रदेशका ६ वटा दलसँग समान सम्बन्ध राप्रपाले कायम राखेकाे भन्दै आफ्नै जस्ताे साेच्न आग्रह गर्नुभयाे ।