हेटौंडा/२१ बैशाख – बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले आफू सरकारमा हुँदा गरेका कामहरुमा कसैले पनि खोट लगाउने ठाउँ नदिएको बताउनुभएको छ । प्रदेशको मुख्यमन्त्री रहँदा र त्यसअघि हेटौंडाको मेयरको रुपमा काम गर्दा कसैलाई पनि नराम्रो हुनेगरी काम नगरेको उहाँले बताउनुभयो ।

बुधबार नेकपा एमालेले हेटौंडा १० मा गरेको बृहत सास्कृतिक कार्यक्रम तथा आमसभामा बोल्दै आफू मुख्यमन्त्री भएपछिको सबैभन्दा महत्त्वपूर्ण काम भनेको नै हेटौंडालाई प्रदेश राजधानी बनाउनु भएको उहाँको भनाई छ । मकवानपुरकै प्रदेश सांसदहरुले समेत हेटौंडालाई प्रदेश राजधानी बनाउन नदिने चलखेल भइरहेको बेला एमालेकै मुख्यमन्त्री भएकै कारण हेटौंडा राजधानी बन्न सफल भएको उहाँले बताउनुभयो । त्यसैले हेटौंडा प्रदेश राजधानी बनाउने प्रमुख श्रेय नेकपा एमालेलाई जाने उहाँको भनाई छ ।
बागमती प्रदेशमा आफ्नो नेतृत्वको कार्यकाल स्वर्णिम कार्यकाल भएको बताउनुभयो । देशका ७ वटै प्रदेशमा सबैभन्दा उत्कृष्ट काम आफ्नो साढे ३ वर्षको कार्यकालमा बागमती प्रदेशमा भएको समेत पौडेलले बताउनुभयो । तर अहिलेको गठबन्धनको सरकारले भ्रष्टाचार भन्दा अरु काम नगरेको समेत उहाँले बताउनुभयो । अहिले गठबन्धनको सरकारले हेटौंडाबासीमात्र नभई सम्पुर्ण प्रदेश बासीहरुको हित बिपरितका कार्यहरु धमाधम गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा केन्द्रिय कमिटी सदस्य भारती पाठक, मेयरका उम्मेदवार अनन्त पौडेल, उपमेयरका उमेदवार सुमित्रा काफ्ले, १० नम्बर वडाध्यक्षका उमेदवार फुर्वा दोर्जे लामालगायत सहाभागी हुनुहुन्थ्यो ।











