अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ चरणको आजको खेलमा न्युजिल्यान्डले श्रीलङ्कालाई ६५ रनले पराजित गरेको छ । टर जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन जोड्यो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक १०४ रनको योगदान गरे ।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलङ्का समालिएर खेल्न नसक्दा १९.२ ओभरमा सबै विकेट गुमाएर १०२ रनमा समेटियो । श्रीलङ्काका लागि दसुन सनकाले ३५ रन र भानु राजापाक्षेले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । आजको खेल सकिँदा सुपर १२ को समूह १ मा ३ खेलबाट ५ अङ्क बटुलेर न्युजिल्यान्ड शीर्ष स्थानमा यथावत् रहेको छ भने श्रीलङ्का समान खेलबाट २ अङ्कसहित अङ्क तालिकाको पुछारमा पुगेको छ । यस जितले समूह १ बाट न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । श्रीलङ्काका लागि भने सेमिफाइनलको सम्भावना जिवित राख्न अब बाँकी दुई खेल जित्नै पर्ने हुन्छ ।