हेटाैंडा, बैशाख २४ । लामो समयदेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र इरान एउटा ठोस सहमति नजिक पुगेका छन् । दुवै देशले १४ बुँदे प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा ११ प्रतिशतले गिरावट आएको छ ।
प्रस्तावित सम्झौता अनुसार इरानले आफ्नो आणविक कार्यक्रम अन्तर्गतको युरेनियम संवर्द्धन प्रक्रिया निश्चित समयका लागि पूर्ण रूपमा रोक्ने प्रतिबद्धता जनाउनेछ। यसको बदलामा अमेरिकाले इरानमाथि लगाएका आर्थिक तथा व्यापारिक प्रतिबन्धहरू हटाउने र रोक्का गरिएको सम्पत्ति फिर्ता गर्ने तयारी गरेको छ। यसबाट इरानको अर्थतन्त्रमा सुधार आउने र विश्व बजारमा तेल तथा ग्यासको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो सहमतिमा रणनीतिक महत्त्वको हर्मुज जलमार्ग खुला गर्ने विषयलाई प्रमुखताका साथ उठाइएको छ। विश्वको झन्डै २० प्रतिशत तेल आपूर्ति हुने यस मार्गमा दुई महिनादेखि जारी अवरोधका कारण विश्वभर ऊर्जा र रासायनिक मलको सङ्कट उत्पन्न भएको थियो । पाकिस्तानको मध्यस्थतामा एक महिनाअघि युद्धविराम भए पनि उक्त क्षेत्रमा अझै तनाव कायमै छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताप्रति सकारात्मक संकेत दिँदै अहिलेको प्रयास असफल भए थप बमबारी गर्ने चेतावनी दिनुभएको छ । अर्कोतर्फ, मध्यस्थकर्ता पाकिस्तानले हालको युद्धविरामलाई स्थायी शान्तिमा बदल्न कूटनीतिक प्रयास जारी राखेको जनाएको छ। इरानले हाल प्राप्त प्रस्तावको अध्ययन भइरहेको बताएको छ।