हेटौंडा – नेपाली काङ्ग्रेस मकवानपुरको सभापतिमा जयराम लामिछानेले उम्मेद्वारी घोषणा गर्नुभएको छ । बुधबार हेटौंडा–२, पल्पसारोडमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उमेदवारी घोषणा गर्नुहुँदै लामिछानेले काङ्ग्रेसलाई गतिशील, उर्जावान बनाउन र नयाँ कार्यदिशा दिन नयाँ कार्यक्रमसहित विधि, विधान र नीति सम्मत् पार्टी सञ्चालन र पार्टी भित्र कार्यकर्ताको मुल्याङ्कन मापदण्डको विकास गर्ने, नेपाली काङ्ग्रेसका अग्रजको सम्मान र युवा पुस्तालाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेसलाई व्यवस्थित गरेर आगामी स्थानीय तहको निर्वाचन लगायत प्रदेश र संघीय निर्वाचनमा बिजयी गाउने उल्लेख गर्नुभयो ।
यसअघि काङ्ग्रेस मकवानपुर जिल्ला सभापति पदमा काङ्ग्रेस मकवानपुरका सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरका निवर्तमान सभापति आनन्दराम पराजुलीले उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । उम्मेदवारी घोषणासभामा नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने तथा जिल्ला सचिव आनन्द कठायतलगायतको उपस्थिति रहेको थियो ।