मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरमा स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार भएको बताउनुभएको छ । आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको अति सघन उपचार कक्ष (आइसियु) सहितको ट्रमा सेन्टरको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश सरकारले मकवानपुरसहित प्रदेशकै स्वास्थ्य सुधारमा उल्लेखनीय कार्यहरू गरेकाे बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित गर्दै स्वास्थ्य सेवाको विस्तार गर्नुका साथै मेडिकल शिक्षा र स्वास्थ्य सम्बन्धी अनुसन्धानमा केन्द्रित रहेर काम सुरु गरेको स्पष्ट पार्नुभयो । उहाँले जिल्लाको स्वास्थ्य सेवा गुणस्तरीय नभएकै कारण जिल्लावासीले जिल्ला बाहिर गएर स्वास्थ्य उपचारमा अर्बौ रुपैयाँ खर्च गरिरहेको अवस्थामा अब केहि वर्ष पछि मकवानपुरबाटै डाक्टर उत्पादन हुने गरि कार्य सुरु भई सकेको समेत बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले मकवानपुरको स्वास्थ्य सेवाको सुधार र विकासमा सबैको दायित्व र जिम्मेवारी रहने समेत बताउनुभयो । उहाँले सहकारीमार्फत सेवामूलक कार्य भएकोमा आफू प्रभावित भएको उल्लेख गनुहुँदै प्रदेश सरकारले निजी तथा सहकारी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थालाई आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले सहकारी वा निजी क्षेत्रले स्वास्थ्य सेवाको क्षेत्रमा गर्ने लगानीमा सिमित मुनाफा र अधिक्तम सेवाभावबाट बढी प्रेरित हुनुपर्ने समेत बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहकारी अस्पतालले सरकारी अस्पतालको प्रतिष्पर्धीको रुपमा नभई सहयोगिको रुपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले निजी तथा सहकारीको अवधारणामा स्थापित स्वास्थ्य संस्थाहरु सरकारी स्वास्थ्य संस्थाको प्रतिस्पर्धी स्वास्थ्य संस्थाको रुपमा नभई सहयोगी निकायको रुपमा आवश्यक समन्वयका साथ काम गर्न सुझाव दिनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सरकारी स्वास्थ्य संस्थाको असल नियत हुँदा हुँदै पनि सेवा, सुविधा पर्याप्त हुन नसकेको अवस्था औँल्याउनुभयो । उहाँले जिल्लामा आइपर्ने स्वास्थ्य समस्याहरुका बारेमा समन्वय र सजजिकरणका माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो । हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले सरकारी स्वास्थ्य संस्था र निजी तथा सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाबीच सहकार्य जरुरी रहेको औँल्याउनुभयो । उहाँले सरकारी स्वास्थ्य संस्थामा सेवा प्रदान गर्ने चिकित्सकलाई सरकारी स्वास्थ्य संस्थामै कार्य गर्ने समयमा निजी तथा सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाले काममा लगाउन नहुनेप्रति सचेत गराउनुभयो । मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीमार्फत अस्पताल सञ्चालन हुनु सराहनीय रहेको उल्लेख गर्नुहुँदै अन्तरसहकारी लगानी गर्न सकिने व्यवस्था लागु भएकोले लगानीको स्रोत समेत विस्तार भएको बताउनुभयो ।

सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनले सहकारी अस्पताल सञ्चालनमा आएको १० वर्षको अवधिमा आइसीयुसहितको सेवा विस्तार गर्न पाउँदा खुसी र गर्व लागेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको क्षेत्रमा सुरक्षाको चुनौति रहेको औँल्याउनुहुँदै सहकारी अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गर्नुका साथै सेवाको गुणस्तर बढाउँदै लैजाने बताउनुभयो । दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर मकवानपुर सहकारी अस्पतालले आइसीयुसहितको ट्रमा सेन्टर विस्तार गरेको हो । २५ बेडको मकवानपुर सहकारी अस्पतालले बेडको क्षमता वृद्धि गर्ने योजना बनाएको अध्यक्ष महर्जनले बताउनुभयो ।