मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबै क्षेत्रको समस्या समाधानका लागि समन्वय र सहजिकरण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरको छैठौं वार्षिक साधारण सभाको शनिबार हेटौंडामा उद्घाटन गर्दै प्रमुख खुलालले जिससलाई समन्वय र सहजिकरणको अधिकार रहेकोले प्राप्त अधिकारको प्रयोग गरेर समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो ।

प्रमुख खुलालले देश नयाँ संरचनामा गएकाले पनि हरेक क्षेत्रमा समस्या जस्तो देखिएको तर समस्या समाधान गर्दै संरचनालाई संस्थागत गर्ने जिम्मेवारी सबैको भएको बताउनुभयो । उहाँले भन्नुभयो– हामीले लामो समयपछि जनताले रुचाएको संरचना निर्माण गरेका छौं, त्यसलाई संस्थागत गर्नु हामी सबैको जिम्मेवारी हो ।” समाजलाई परिपक्क, विकसित र व्यवस्थित गर्ने जिम्मा सबैको भएको उहाँको भनाई थियो । प्रधानमन्त्री वा मुख्यमन्त्री मात्रैले सोचेर देशमा समृद्धि नआउने भन्दै उहाँले भन्नुभयो– “हामी सबै राज्य हौं, हामी सबै राज्यको उन्नतीमा लागौं” । प्रमुख खुलालले व्यवसायिका जायज मागलाई राज्यले संवाेधन गर्नुपर्ने पनि भन्नुभयो । तर, हामी राज्यसंग अधिकार खोज्दा आफुले राज्यको उन्नती र प्रगतीकालागि कतिको सकृयता र सहभागिता जनाएका छौं त्यसतर्फ पनि बिचार गर्न उहाँले आग्रह गर्नुभएको छ । हामी भित्र भएका त्रुटीहरुलाई सच्याउनु पर्ने उहाँको भनाई थियो ।

संघका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ट उपाध्यक्ष पवन कुमार भगत, केन्द्रीय सदस्य बलभद्र खनाल, मकवानपुर उध्याेग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष माधव न्यौपाने, संघका चितवन अध्यक्ष हरि प्रसाद पौडेल, बारा अध्यक्ष कर्ण बहादुर थापा, रौतहट अध्यक्ष खड्ग बहादुर बोमजन, पोखरा सदस्य कमल न्यौपाने, मकवानपुर उध्याेग वाणिज्यसंघका वाणिज्य तर्फका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, वस्तुगत तर्फका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कोषध्यक्ष अनिल अग्रवाल, नेपाल कपडा तथा तयारी पाेशाक व्यवसायि संघका अध्यक्ष तेजराज अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आफुले प्राप्त गरेको भाडाबाट घरवहाल कर तिर्ने गरेको भन्दै घरवेटी कृष्ण कुमार गुप्ता अग्रवाललाई सम्मान समेत गरिएको थियो ।