मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले निजी तथा सहकारी अस्पतालले सरकारी अस्पतालको प्रतिष्पर्धीको रुपमा नभई सहयोगिको रुपमा काम गर्नुपर्ने बताउनुभयो । बुधबार हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन कार्यक्रममा बोल्नुहुँदै प्रमुख खुलालले निजी तथा सहकारीको अवधारणामा स्थापित स्वास्थ्य संस्थाहरु सरकारी स्वास्थ्य संस्थाको प्रतिस्पर्धीकोे रुपमा नभई सहयोगी निकायको रुपमा आवश्यक समन्वयका साथ काम गर्नुपर्ने बताउनुभयो ।
प्रमुख खुलालले सरकारी स्वास्थ्य संस्था र निजी तथा सहकारीमार्फत सञ्चालित स्वास्थ्य संस्थाबीच सहकार्य जरुरी रहेको भन्दै जनताका आधारभूत आवश्यकतालाई नाफा नोक्सानको विषय बनाउन नहुने समेत बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य नाफाको क्षेत्र नभई सेवाको क्षेत्र भएको भन्दै यस विषयमा सेवाको भाव बलियो हुनुपर्ने बताउनुभयो ।
सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता थियो । महर्जनले सहकारी अस्पताल सञ्चालनमा आएको १० वर्षको अवधिमा आइसीयुसहितको सेवा विस्तार गर्न पाउँदा खुसी र गर्व लागेको बताउनुभयो । उहाँले सहकारी अस्पतालले आगामी दिनमा थप सेवा विस्तार गर्नुका साथै सेवाको गुणस्तर बढाउँदै लैजाने बताउनुभयो । दुई करोड २५ लाख रुपैयाँ लगानी थप गरेर मकवानपुर सहकारी अस्पतालले आइसीयुसहितको ट्रमा सेन्टर विस्तार गरेको हो । २५ बेडको मकवानपुर सहकारी अस्पतालले बेडको क्षमता वृद्धि गर्ने योजना बनाएको अध्यक्ष महर्जनले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, जिल्ला सहकारी संघका अध्यक्ष नारायण देवकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।