हेटौंडा – निर्माण व्यवसायी संघ मकवानपुरले शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मुल्यवृद्धिको विरोध र खरिद नियमावलीको केही बुँदाहरू संशोधनको माग सहित संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हाे ।
निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधन र वीमा समितिले जारी गरेको वीमा सम्बन्धि निर्देशिका–२०७८ ले गर्दा प्रिमियम दरमा भएको अत्याधिक वृद्धिको विषयलाई समेत आफ्नो आन्दोलनको विषय बनाएकाे छ । निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष बालगोपाल कडेँलले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई नौ बुँदे ज्ञापन पत्र बुझाउनु भएकाे हाे । उहाँहरूले निर्माण सामग्रीमा अप्रत्याशितरुपमा भएको मूल्य वृद्धिका कारण व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभएकाे छ ।
सार्वजनिक खरिद ऐनको संशोधनले साना निर्माण व्यवसायीलाई समस्या भइरहेको र यसले निर्माण व्यवसायीवीच ठूलो अन्तर पैदा गर्ने संघ मकवानपुर महासचिव बालकुमार मल्ल ठकुरीले सार्वजनिक ऐनमा आफूहरु गरेको विरोधको सुनुवाइ तत्काल नभएको खण्डमा निर्माण व्यवसायी थप आन्दोलित हुने बताउनुभयाे । आन्दोलनको कार्यक्रमअन्तर्गत् शुक्रबार ७ प्रदेश महासंघ, ७७ जिल्ला संघ, एसोसिएट तथा वस्तुगत संघले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएकाे हाे । संघका प्रथम उपाध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापन–पत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन संघका महासचिव बालकुमार मल्ल, कोषाध्यक्ष ईश्वर पाठक, उपमहासचिव भवनाथ अधिकारीसहितको निर्माण व्यवसायी जिल्ला प्रशासन कार्यालय पुग्नु भएकाे थियाे ।