मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले शुक्रबार जिल्लाको बिकट राक्सिराङ गाउँपालिकाको अनुगमन गरेको छ । जिससले स्थानीय तहहरुको चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए÷गरेका कार्यहरुको अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाको चालु आवको प्रगति, गाउँपालिकामा आइपरेका समस्या तथा चुनौतिलगायत विषयमा जानकारी लिएको छ । सो क्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, प्मुख प्रशासकिय अधिकृत देवचन्द्र गतौंललगायतले हालसम्मको प्रगतिको अवस्था र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा गाउँसभाबाट पारित भएका योजना मध्ये करीब ६० प्रतिशत सम्झौता भई कार्यान्वयनको चरणमा रहेको जानकारी दिईएको छ । यसबाहेक पनि अन्य ठेक्का मार्फत सञ्चालित योजना, कृषिका योजना तथा गाउँ कार्यपालिकाबाट सञ्चालित योजनाहरुको अवस्था सन्तोष जनक रहेको जानकारी दिईएको छ । सो क्रममा अनुगमन टोलीले गाउँपालिकाका विभिन्न योजनाहरुको समेत स्थलगत निरिक्षण गरेको थियो । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत सुनिता गजुरेल, लेखापाल दिपिका खनाल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।