मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको लगानीमा जिल्लाकै बिकट राक्सिराङ गाउँपालिकामा निर्माण भएको छात्राबास भवन उद्घाटन भएको छ । जिससको एक करोड रुपैयाँको लागतमा राक्सिराङ गाउँपालिका–३, स्थित सूर्योदय माविमा निर्माण भएको १६ कोठे छात्राबास भवनको शुक्रबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो ।

कुल एक करोड ६० लाख लागत अनुमान रहेको छात्राबास भवन करसहित एक करोड १७ लाखमा ठेक्का मार्फत निर्माण भएको हो । भवन निर्माणका लागि जिससको मौजदात कोषबाट एक करोड रकम उपलब्ध गराईएको थियो । भवन उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले गाउँपालिकाका अझै विकट क्षेत्रबाट पढ्न आउनेहरु विद्यार्थीहरुका लागि छात्राबास उपयोगि हुने बताउनुभयो । उहाँले छात्रावास निर्माणले पढ्नका लागि दैनिक घण्टौं हिडेर आउनुपर्ने त्यस भेगका विद्यार्थीलाई राहत मिल्ने बताउनुभयो । उहाँले बनेको संरचनाको उचित प्रयोग गर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले बिकट क्षेत्रलाई ध्यानमा राखेर नै जिससले लगानी गरेको भन्दै यस भेगका विद्यार्थीलाई छात्राबास निर्माणले राहत पुग्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विकट राक्सिराङ गाउँपालिकालगायत आसपासका क्षेत्रका बिद्यार्थीलाई छात्राबास निर्माणले शिक्षा हासिल गर्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले छात्राबास निर्माणमा सहयोग पु¥याएकोमा जिल्ला समन्वय समितिलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकार घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत सुनिता गजुरेल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गर्तौला, ३ नम्बर वडा अध्यक्ष बाबुलाल स्या«तान, लेखा अधिृकत राजेन्द्र भट्टराई, शिक्षा अधिकृत प्रदिप पराजुली, जिससका लेखापाल दिपिका खनाल, नायव सुब्बा उपेन्द्रनाथ पोखरेल, गाउँपालिकाका कर्मचारीहरु, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चित्रबहादुर थापालगायत स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरुको सहभागिता थियो । करीब ११ सय विद्यार्थीहरु अध्यनरत रहेको उक्त विद्यालयमा यसै वर्षबाट अंग्रेजी माध्यममा कक्षा संचालन गर्ने साथै प्राविधि तर्फ बालि विज्ञानको कक्षा समेत संचालनको तयारी रहेको छ ।