मकवानपुर– बागमती प्रदेश सरकार गठन भएको यहि माघ २९ गते तीन वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गर्दै छ । तीन वर्षे कार्यकालमा प्रदेश सरकारले कठिन परिस्थितीका बाबजुद संघीयताको मर्म र भावना अनुसार कार्य गर्दै अगाडी बढिरहेको पाईएको छ । जनतालाई सर्वोपरि ठानेर “सुखि नेपाली र समृद्ध नेपाल निर्माण” को यात्रामा अगाडी बढेको बागमती प्रदेश सरकारले यो अवधिमा विभिन्न कठिन परिस्थितीका बाबजुद शिक्षा, स्वास्थ्य, पुर्वाधार, पर्यटन, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई सन्तुलित रुपमा अगाडी बढाउँदै गएको छ । प्रदेश सरकारले सवैको दृढ संकल्प, इमान्दार प्रयत्न र मेहनतवाट समृद्धिको सपनालाई यथार्थतामा वदल्न सकिने विश्वासका साथ काम गरेको पाईएको छ ।
शुन्य अवस्थावाट सुरु भएको प्रदेश सरकारले वितेका तीन वर्षमा चुनौतिहरुको सामना गर्दै केही नयाँ, केहि फरक र केहि राम्रा काम गरेको छ, भने केहि गौरबका आयोजनाहरु सुरुवात गरेको छ । नयाँ संरचनामा भए पनि बागमती प्रदेश सरकारले समग्रमा प्रदेशको अवस्थालाई बुझेर समानुपातिक विकासमा जोड दिएको पाईन्छ । जनतामा संघीयताको अनुभुति दिलाउने र संतुलित विकासको अवधारणालाई ध्यानमा राख्दै प्रदेश रकारले काम गरिरहेको पाईन्छ । प्रदेश सरकारले यो तीन वर्षमा प्रदेश कानुन तर्जुमा, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, कृषि वन पर्यटन, उद्योगलगायतका क्षेत्रमा काम गरेको छ । यो अवधिमा प्रदेश सरकारले जनताको भावना अनुसार केहि पुराना कामलाई निरन्तरता दिएको छ भने, केहि नयाँ र गौरबका योजना सुरु गरेको छ ।
प्रदेश सरकारले तीन वर्षमा ऐन कानुन निर्माण, कर्मचारी ब्यवस्थापन, पुर्वाधार ब्यवस्थापन, प्रदेश गौरवको आयोजना निर्माण, कृषि आधुनिकिकरण, कृषक प्रोत्साहन तथा अनुदान कार्यक्रम, पर्यटन क्षेत्रको विकास, औधोगिक विकास एवम् रोजगारी सिर्जना गर्नुका साथै शिक्षा क्षेत्रमा विद्यार्थीको स्वास्थ्य सुरक्षा, भौतिक पुर्वाधार एवम् शैक्षिक गुणस्तर सुधार, खेलकुदको क्षेत्रमा प्रतिभा पहिचान, प्रोत्साहन, खेल पुर्वाधारको विकास लगाएत अनेकौं कार्यक्रमहरु कार्यान्वयनमा ल्याएर त्यसबाट परिणाम समेत देखिन थालेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलको नेर्तत्वमा रहेको बागमती प्रदेश प्रदेश सरकारमा आफ्नै पाट्री भित्रबाट असहयोग हुँदा हुँदै पनि थुप्रै उपलब्धीहरु हसिल भएका छन् । तर, अझै पनि प्रदेश सरकारले चाहे अनुरुप काम भने अझै गर्न नसकिरहेको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बताउनुहुन्छ । “संघीयता पहिलो अभ्यास भएकाले कानुन निर्माण देखि अनेकौ कारणले योजनाअनुसारका काम गर्न अझै केहि अप्ठ्यारो छ । तर पनि बागमती प्रदेश सरकारले आफ्ना कामहरुलाई अनेकौ अप्ठ्यारोका बाबजुद अगाडी बढाउँदै लगेको छ ।” उहाँले साझासन्देश डटकमसंग भन्नुभयो ।
बागमती प्रदेश सरकारले गठनको तीन वर्षमा १ सय ९ वटा प्रदेश कानुन तर्जुमा गरेको छ । तीन वर्षको अवधिमा पहिलो वर्ष २४ वटा, दोस्रोमा २१ वटा र तेस्रो वर्षमा १४ गरि कुल ५९ वटा कानुन ३ अध्यादेश, १९ वटा नियमावली, १७ कार्यविधि, ३ निर्देशिका, ८ वटा आदेश जारी गरेको छ । यो विचमा संघीय सरकारले बनाएपछि मात्रै बनाउनु पर्ने कानुन धेरै भएकोले कानुन निर्माणमा केहि सुस्तता आएको हो । तर, निती र विधिमा टेकेर सञ्चालित प्रदेश सरकार सञ्चालनका लागि भने आवश्यक कानुनहरु निर्माण भएका छन् । प्रदेश सरकारले कुल ९९ वटा कानुन तर्जुमा गर्नुपर्ने छ । कानुन निर्माणसंगै बागमती प्रदेश सरकारले सामाजिक आर्थिक, पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण कामहरु गरेको छ ।
ऐन कानुन निर्माणसंगै प्रदेश सरकारले गरेका महत्वपूर्ण कामहरुमा विद्यालय नर्स कार्यक्रम महत्वपूर्ण हो । विद्यालय नर्स कार्यक्रम अन्तर्गत १ सय १९ वटा स्थानीय तहका सरकारी माध्यमिक विद्यालयमा नर्स कार्यक्रम लागु गरेको छ । जहाँ ३ सय ५१ नर्स कार्यरत छन् । यस्तै ३३ सामुदायिक विद्यालयमा विषयगत प्रयोगशाला स्थापना गरेको छ । १ सय २० सामुदायिक विद्यालयमा ई–लाइव्रेरी तथा स्मार्ट बोर्डसहितको आइसीटी ल्याव स्थापना गरेको छ । सून्य दरबन्दी भएका २ सय ६२ सामुदायिक विद्यालयमा अग्रेजी, गणित, विज्ञान मध्ये कुनै एक विषयमा शिक्षक अनुदान दिएको छ । साथै ‘बागमती प्रदेशको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ कार्यक्रम अन्तर्गत ३ सय ९८ छोरी बुहारीलाई छात्रवृति प्रदान गरेको छ । यस्तै क्यान्सर पीडितलाई संघीय सरकारबाट प्रदान गरिने सुविधामा प्रदेश सरकारबाट थप ५० हजार उपलब्ध गराउँदै आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भई अध्ययन र अनुसन्धानका लागि पुर्वाधार निर्माण कार्य प्ररम्भ भएको छ । यस्तै हरेक स्थानीय तहमा अस्पताल भवन निर्मण कार्य चलिरहेको छ भने, कोरोना कोष स्थापना र कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारले निरन्तर काम गरिरहेको छ ।
बाग्मती प्रदेश सरकारले यो अवधिमा पुर्वाधार विकास तर्फ ३ सय ९३ किलोमिटर सडक स्तरन्नोति गरेको छ । प्रदेशको गौरव आयेजना अन्तर्गत पोष्ट बहादुर बोगटी सुरुङमार्गको थालनी गरेको छ भने १ हजार १ सय ५९ किलोमिटर सडक निर्माण गरेको छ । साथै ३७ वटा पुल निर्माण गरेको छ । ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत ६१ वटा खानेपानी आयोजना पुरा भएको छ । सिंचाइ आयोेजनाबाट ३ सय ६४ हेक्टरमा सिंचाइ सुविधा पुगेको छ । जसबाट प्रदेशका ५ सय १५ घरधुरी लाभान्वित भएका छन् । यसै गरी जनता आवास कार्यक्रम अन्तर्गत १ हजार ३ सय ५४ आवास हस्तान्तरण गरेको छ । प्रत्येक जिल्लामा एक रङ्गशला निर्माण गरेको छ । प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा कभर्ड हल निर्माण, प्रत्येक स्थानीय तहमा खेल मैदान, जेष्ठ नागरिक आवास भवन निर्माण लगायत काम गरेको छ ।
कृषि क्षेत्रमा प्रदेश सरकारले १ हजार ७ सय ४४ बिगाहा जग्गामा सामूहिक चक्लाबन्दी गरी कृषिमा आधुनिकीकरणको थालनी गरेको छ । यस्तै २ सय ४७ दुग्ध उत्पादक सहकारीलाई करिब ८ करोड ८८ लाख अनुदान वितरण गरेको छ । १४ वटा साझा सुविधा केन्द्र तथा २१ वटा बजार घर तथा कृषि उपज विक्री केन्द्रको स्थापना भएको छ । प्रदेश दुग्ध पाउडर प्लान्ट र विभिन्न जिल्लामा सीत भण्डार र चिस्यान केन्द्र निर्माण गरेर कृषि क्षेत्रमा किशानलाई प्रोत्साहनको काम गरेको छ । उत्पादन र रोजगारीका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमको शुरुवात भएको छ । ६ वटा हिलस्टेशन र १० वटा नमुना पर्यटन गन्तव्य सहित २८६ वटा पर्यटन पूर्वाधार निर्माण गरेको छ । प्रत्येक जिल्लामा कम्तिमा एउटा एकीकृत कृषि पर्यटन कार्यक्रम अनुरुप प्रदेशका विभिन्न जिल्लमा कालिज फार्म कुखुरा फार्म, अडकनाथ लगायतका फार्म स्थापना भइ संचालनमा रहेका छ् । प्रदेश सरकारले यो तीन वर्षमा प्रदेशभर ४५ वटा पदमार्गसहित झण्डै ४३ किलोमिटर गुणस्तरीय पदमार्ग निर्माण गरेको छ । भने, एक निर्वाचन क्षेत्र एक उद्योग ग्राम कार्यक्रम अन्तर्गत ५ वटा स्थानमा उद्योगग्राम निर्माण थालनी र १० स्थानको वाावरणीय अध्ययन सम्पन्न भएको छ ।
यस्तै प्रदेश निजामती सेवा, अन्य प्रदेश सरकारी सेवा र स्थानिय सेवामा जनशक्ति आपुर्ति गर्न प्रदेश लोक सेवा आयोग ऐन तर्जूमा गरि लोकसेवा आयोग गठन गरेर जनशक्ति आपुर्ति गर्ने कार्य गरेको छ । यस्तै प्रदेशको शान्तिसुरक्षालाई चुस्त दुरुस्त बनाउन नुवाकोट र सिन्धुलीमा हालसम्म ६ वटा प्रहरी चौकी भवन निर्माण गरेको छ भने थप ४० वटा निर्माणाधीन रहेको छ । यस्तै प्रदेश सरकारले द्वन्द्व पीडित तथा विस्थापित परिवारका लागि सहायता कार्यक्रम अन्तर्गत राहत वितरण, प्रदेशका पत्रकारको १ लाखका दरले कोरोना विमा, पत्रकार कल्याण कोपमा रकम गर्ने लगायतका काम समेत गरेको छ । यसका साथै प्रदेश सरकारले यो तीन वर्षमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, पर्यटन, महिला, बालबालिका, असाहाय, अनाथ, घरबार बिहीन, गरीब, बेरोजगारलगायत खेलकुद, स्वास्थ्य, शिक्षा, खानेपानी, पुर्वाधार, उद्योग, कृषि, सिँचाई, बातावरणका क्षेत्रमा उल्लेख्य कामहरु गरेको छ । जसबाट प्रदेशका नागरिकले प्रत्यक्ष रुपमा लाभ प्राप्त गरेका छन र संघीयताको अनुभति समेत गरेका छन् ।