मकवानपुर– बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोतको सुनिश्चत गरेको छ । स्रोत सुनिश्चित भएसँगै प्रदेश सरकारले ड्रिम प्रोजेक्टका रुपमा समेत लिईएको सुरुङमार्ग निर्माणको काम अगाडि बढाउने भएको हाे ।
आईतबार आर्थिक मामिला तथा योजना मन्त्रालयले सुरुङमार्ग निर्माणका लागि करिब १९ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता गरेको पत्र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ । आर्थिक मामिला मन्त्रालयले आयोजना निर्माण, सुपरिवेक्षण र परामर्श सेवा तथा मुवाब्जा वितरण गरेर सुरुङमार्ग निर्माणमा १९ अर्ब ३२ करोड, ५ लाख ७६ हजार लाग्ने तथा उक्त रकमको स्रोत सुनिश्चितता भएको जनाएको छ । मन्त्रालयले पठाएको पत्रमा आयोजना निर्माणका लागि १८ अर्ब ७२ करोड ७ लाख ७६ हजार, सुपरिवेक्षण र परामर्श सेवाका लागि ५७ करोड ९८ लाख तथा आयोजना क्षेत्रको मुवाब्जाका लागि २ करोड बजेटको सुनिश्चितता गरेको छ ।
मन्त्रालयले सुरुङमार्गको निर्माणका लागि उक्त रकम चार आर्थिक वर्षमा सम्पन्न गर्ने गरि उपलब्ध गराउने समेत जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा २ अर्ब ११ करोड, आव २०७८÷०७९ ६ अर्ब २१ करोड, आव २०७९÷०८० मा ६ अर्ब २० करोड र आव २०८०÷०८१ मा ४ अर्ब ८० करोड ५ लाख ७६ हजार रुपैयाँ उपलब्ध गराउने उल्लेख गरेको छ । सुरुङमार्गको निर्माणका लागि अन्तराष्ट्रिय शिलबन्दी बोलपत्र मार्फत् आव्हान गरिने समेत पत्रमा उल्लेख गरिएको छ । ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण अध्ययन प्रक्रिया भने सम्पन्न भईसकेको छ ।
स्रोत सुनिश्चिततासंगै मुख्यमन्त्री डोरमणि पौडेलले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर प्रदेशको ड्रिम प्रोजेक्टका रुपमा लिनुभएको आयोजनाले मुर्त रुप लिने भएको हो । नेपाल सुरुङ्गको युगमा प्रवेश गरीसकेको र अबको बिकाश सुरुङ्गको माध्यमबाट हुने मुख्यमन्त्री पौडेलको विश्वास छ । बागमती प्रदेशको राजधानी हेटौँडा र देशकै राजधानी काठमाडौँलाई सहज ढङ्गले जोड्ने तथा देशको आर्थिक विकासमा मेरुदण्डको काम गर्ने भएकाले सुरुङमार्ग निर्माणलाई प्रदेश सरकारले महत्वपुर्ण आयोजनाको रुपमा लिएको उहाँले बताउनुभयो । सुरुङमार्ग निर्माणले अर्थिक विकाससँगै थुप्रै रणनीतिक महत्वका साथै काठमाडौँ केन्द्रित जनसंख्यालाई विकेन्द्रीकृत गर्ने उहाँको विश्वास छ । सुरुङमार्ग निर्माणपछि हेटौँडा–काठमाडौँको जोखिमपूर्ण र लामोे यात्रा समय घटेर एक घण्टामा आउने र देशका प्रायः सबै क्षेत्रबाट काठमाडौँसम्मको यात्रा अवधि घटाउने तथा आर्थिक बचतसमेत गराउने उदेश्य रहेको उहाँले बताउनुभयो ।