मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको विभिन्न जिल्लामा निर्माण गरिएको शीत भण्डार सञ्चालन सम्बन्धी कार्यविधि पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गरेर विभिन्न जिल्लामा निर्माण गरेको ९ वटा शीत भण्डार सञ्चालन सम्बन्धी कार्यविधि पारित गरेको हो ।
यस्तै बैठकले प्रदेशमा अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुसूची हेरफेर गरेर अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने प्रावधान थप गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रदेश यातायात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुङ्गानाले दिनु भएको राजीनामा स्वीकृत गरेको छ । बैठकले प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईं र खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामालाई पदमुक्त गर्ने निर्णय गरेको छ । यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास नियमावली पारित गर्दै प्रथम प्रदेश खेलकुद प्रतियोगिता–२०७८ फागुन २७ गतेबाट चैत ५ गतेसम्म गर्ने निर्णय समेत प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
यस्तै बैठकले दोलखा जिल्लाको सदरमुकाम स्थित चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना सङ्क्रमणबाट निधन भएको थियो । बैठकले स्वास्थ्य सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बिमा समिति गठन गर्ने निर्णय गरेको छ । भने, बागमती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागी हुनका लागि दिनुभएको निवेदनमा सिफारिस गरी सङ्घीय सरकारमा निर्णय गर्न पठाउने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।