मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सबैको भुमिका आवश्यक रहेको बताउनुभएको छ । मकवानपुर जिल्लामा दोस्रो चरणको कोरोना भाइरसको प्रकोप बढ्दै गएको अवस्थामा त्यसको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा बिहीबार जिल्ला स्थित गैरसरकारी संस्थाहरूसंगको छलफलमा उहाँले माहामारीमा सबैले भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो ।

प्रमुख खुलालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गैससहरुले सचेतना फैलाउनेलगायतका कार्य गर्नुपर्ने बताउनुभयो । समुदायलाई कोरोना महामारीबाट बचाउन सबै लाग्नुपर्ने भन्दै उहाँले संकटका बेला हरेक संस्थाले आ–आफ्नो स्थानबाट भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । छलफलका क्रममा संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले कोभिड नियन्त्रण तथा रोकथामका लागि सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

छलफलका क्रममा प्रचार प्रसारमा जोड दिनुपर्ने तथा स्वास्थय सुरक्षाका मापदण्डको कडाईका साथ कार्यान्वय हुनुपर्ने बताउनुभएको थियो । उहाँहरुले समुदायमा सचेतना फैलाउनेसंगै स्वास्थ्य सुरक्षाका मापदण्डहरुको कडाईका साथ व्यवहारमा लागु गराउने कुरामा जोड दिनुभयो । छलफलबाट समुदायलाई कोरोनाबाट जोगाउन तथा स्वासथय सुरक्षाका मापदण्ड पालना गराउने सम्बन्धमा बिभिन्न निर्णय समेत भएको प्रमुख खुलालले बताउनुभयो ।

छलफलले समुदायमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य रुपमा पालना गराउन सबै संघसंस्थाहरु सकेय भएर लाग्ने, मास्क नलगाउने व्यक्तिलाई बढीमा १० रुपैया लिएर मास्क वितरण गर्ने तथा मास्क लगाउनु पर्छ भनेर सचेतना फैलाउने, सार्वजनिक स्थानहरुमा फ्ल्यास बोड राख्ने, जसको समन्वय गैसस महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटा र सचिव बोलबाहादुर कार्कीले गर्ने तथा नेपाल सरकार र जिल्ला संकट व्यवस्थापन केन्द्रद्धारा जारी गरिएका निर्देशनहरु पुर्ण रुपले पालना गर्ने÷गराउने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा जिल्लामा सकृय विभिन्न गैरसरकारी संघ÷संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता थियो ।