श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित हुनुभएको छ । नागरिकमाझ अलोकप्रिय भएपछि यसअघि प्रधानमन्त्री पदबाट राजीनामा दिन तीव्र दबाब खेपेका विक्रमासिंघेकै पक्षमा चुनावी नतिजा आएको हो । आज भएको राष्ट्रपतीय निर्वाचनमा विक्रमासिंघेले आफ्नै दलका दलस अलापेरुमालाई पराजित गर्नुभएकाे हाे ।
संसदमा कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघेले १ सय ३४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी अलापेरुमाले ८२ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कुनै प्रतिकुलता नआए विक्रमासिंघेको कार्यकाल सन् २०२४ सम्म रहनेछ । विक्रमासिंघेसामु चरम आर्थिक संकटबाट राष्ट्रलाई पुन: सामान्य अवस्थामा लैजाने तथा अस्तव्यस्त बनेको श्रीलंकाको दैनिकी सुधार एवं सार्वजनिक सुव्यवस्था कायम गर्नुपर्ने चुनौती छ । श्रीलंकामा चुलिएको आर्थिक संकटका यसअघि सत्तामा रहेको राजपक्ष परिवार र उनीहरुले नेतृत्व गरेको सरकारलाई दोषी ठहर गर्दै नागरिक वृत्तबाट ठूलो सडक संघर्ष भएको थियो । प्रर्दशनकारीले राष्ट्रपतिको भवन तथा प्रधानमन्त्री कार्यालय समेत कब्जामा लिएका थिए । मुलुकको प्रतिकुल अवस्थामाझ गत साता तत्कालिन राष्ट्रपति गोटाबाया राजपाक्षे मुलुक छोडेर भागेका थिए ।