मकवानपुर– मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले सामाजिक दुरी कायम राखेर विकास निर्माणका कामहरु सुचारु गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा जारी विज्ञप्तीमा विकास निर्माणका कार्यहरु अघि बढाउने उल्लेख गरिएकाे छ । विज्ञप्तीमा गाउँपालिकाले गाउँघरमा कृषि उपजहरुको उत्पादनका लागि आवश्यक मलखाद, बीउबिजन, औषधी तथा खाद्यान्नहरुको नियमित आपूर्तिका लागि सहजीकरण गर्ने जनाइएको छ । त्यस्ता सामाग्रीहरु बोक्नका लागि सम्बन्धित वडा कार्यालयको सिफारिसमा गाउँ कार्यपालिकाको कार्यालयबाट ढुवानी अनुमति पत्र जारी गरिने विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै गाउँपालिकाले आवश्यक रासायिनिक मलको आपूर्तिका लागि स्थानीय सहकारी संस्थाहरु र क्लवहरुले पहलकदमी लिने र व्यवस्थापन सहज बनाउने तयारी गरेको अध्यक्ष मल्लद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । हाल मनहरी बजारबाट चैनपुर पुग्नका लागि मनहरी खोलाको किनार हुँदै चैनपुरसम्म र मनहरी बजारबाट प्याङ्चे हुँदै चैनपुर पुग्ने सडक खण्ड दुबै चालू रहेकाले बर्षातको समस्यालाई समेत मध्यनजर गरी खोला किनारको बाटो प्रयोग नगरी मनहरी–प्याङ्चे–चैनपुर सडक खण्ड मात्र प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।