हेटौंडा – मकवानपुरको कैलाश मकवानपुर गाउँपालिकाका अध्यक्ष टंक मोक्तानसहित ६ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार सम्बन्धी मुद्धा दायर गरेको छ । कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता बिकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा अनियमितता गरेको ठहर गर्दै आयोगले काठमाडौं अदालतमा मुद्धा दायर गरेको हो ।
आव २०७५/०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम संचालनबापत भए गरेको कामभन्दा बढी २ लाख ६० हजार ९ सय भुक्तानी गरी लिए दिएको पुष्टि हुन आएको र सो कार्यमा गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, फिलिंगो मिडिया प्रालिका संचालक रामकुमार रिजाल, तत्कालीन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिृकत मोहन प्रसाद पौडेललाई सो रकम असुल मागदाबि सहित आयोगले अदालतमा मुद्धा दायर गरेको अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयो । उहाँको अनुसार कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानलाई २ लाख ६० हजार ९ सय रुपैयाँ बिगो मागदावी, संचालक राम कुमार रिसालसँग २ लाख ६० हजार ९ सय रुपैयाँ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसारी, लेखापाल श्रेष्ठ, आन्तरिक लेखापरीक्षक मगर र सामाजिक विकास अधिकृत पौडेलसँग एकमुष्ठ २ लाख ६० हजार ९ सय रुपैयाँ बिगो असुल समेत हुने गरी भष्टाचारको आरोप पत्र अदालतमा दायर गरेको छ ।