हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा आजबाट टोल विकास स्तरीय चौथो सेभेन ए साईड पुलबल प्रतियोगिता सुरु भएको छ । बेरोजगार युवा संगठन मकवानपुरको आयोजना एवम् ९ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा टोल विकास संस्था वडा समन्वय समितिको समन्वयमा प्रतियोगिता सुरु भएको हो ।

विजया दशमी २०७८ को अवसरमा आयोजित प्रतियोगितामा शुक्रबाट दुई खेल भएको छ । उद्धाटन खेलमा प्रतियोगिताको साविक विजेता शान्तिचोक टोल विकास संस्था “ए” ले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा मदन टोल विकास संस्थालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै शान्तिचोक “ए” ले उत्कृष्ट सुरुवात गरेको हो । शान्तिचोक “ए” को जीतमा विमल घलानले २ तथा संगम लामा र विशाल घलानले १÷१ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच बिमल घलान भएका थिए ।
शुक्रबार नै भएको दोस्रो खेलमा धाप टोल विकास संस्थाले लामसुरे हाइट टोल विकास संस्थालाई ट्राइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ दि म्याच धापका गोलरक्षक सरोज थापा मगर घोषित भएका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार ५ खेल हुँदैछ । शनिबारको पहिलो खेलमा स्वागत टोलले धर्मपथको सामना गर्दैछ भने दोस्रो खेल कुष्माण्ड टोल र शान्तिचोक ‘बी’ बिच हुने जनाइएको छ । तेस्रो खेल माल्दिप्स टोल र त्रिवेणी टोलबिच, चौथो खेल सन्तोषी टोल र मिलन टोल तथा पाँचौं खेल प्रगतिशिल टोल र ओम टोलबिच हुने आयोजक बेरोजगार युवा संगठनका सचिव घनश्याम ढुंगानाले जानकारी दिनुभयो । असोज २० गतेसम्म आयोजना हुने प्रतियोगितामा १८ वटा टोल विकासका १९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ तथा तेस्रो हुने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । यस्तै प्रतियोगितामा विधागत पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ । मकवानपुर बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश मिजारको अध्यक्षतामा भएको प्रतियोगिताको उदघाटन कार्यक्रममा ९ नम्बर वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा ९ नम्बर वडा सदस्य एवम् संस्थाका सल्लाहाकार सुकराम केसी, संस्थाका सल्लाहाकार नरेन्द्र भण्डारी, उपाध्यक्ष सुनिल लोप्चन, गैरसरकारी संस्था महासंघकी उपाध्यक्ष रमिला सापकोटा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडा लगायतको उपस्थिती थियो ।