मकवानपुर । बागमती प्रदेश खेलकद विकास परिषदको आयोजनामा भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेश प्रथम भएको छ । कुल ६१ स्वर्ण, ४३ रजत र ३६ कास्य गरी कुल १४० पदकसहित बागमती प्रथम भएको हो ।
गत चैत २५ गतेबाट सुरु प्रतियोगितामा २१ स्वर्ण, २१ रजत र २९ कास्य गरि कुल ७१ पदकसहित सुदुरपश्चिम प्रदेश दोस्रो तथा १६ स्वर्ण, २३ रजत र ३६ कास्य पदकसहित कोशी प्रदेश तेस्रो भयो । प्रतियोगिता अन्तरगत आज भएको पुरुष फुटबलमा बागमतीलाई कोशिले शुन्यका बिरुद्ध एक गोलले पराजित गरेको हो ।
यसैगरी ११ स्वर्ण, १८ रजत र २० कास्यसहित ४९ पदकका साथ गण्डकी प्रदेश चौथो, ११ स्वर्ण, १६ रजत र २८ कास्य गरि ५५ पदकसहित लुम्बिनी प्रदेश पाचौं, ११ स्वर्ण, १० रजत र २४ कास्य पदकसहित कर्णाली प्रदेश छैटौं र ३ स्वर्ण, ३ रजत र १५ कास्य पदकसहित मधेस प्रदेश अन्तिम अर्थात सातौं स्थानमा रहेको छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेल समावेश गरिएको थियो । भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चैत्र २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरी सुरु प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलको खेल र समापन कार्यक्रम हेटौंडा–६, स्थित गौरीटार रंगशालामा भएको हो ।